सुर्खेत समाचारदाता
सुर्खेत, पुस १५ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई उद्धार, राहत र सहयोग गर्न लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको छ । नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष कार्यविधि, २०८२ पारित गरेर कोष स्थापना गरेको हो । उक्त कोषमा हाललाई एक लाख रुपियाँ राखिएको छ ।
कोषबाट लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको उद्धार गर्ने, राहत र सहयोगका लागि सीप विकासका लागि आवश्यक बिउपुँजीसमेत प्रदान गरिने छ । कोष कार्यान्वयनबारे सोमबार आयोजित छलफलमा सरकारी, विकास साझेदार संस्थाबाट रकम थप गरी बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख नीलकण्ठ खनालले नगरपालिकाले लैङ्गिक हिंसाबाट पीडित भएका महिला, किशोरी र बालबालिकालाई यही कोषबाट आगामी दिनमा सहयोग प्रदान गरिने बताउनुभयो । उहाँले कोषमा विकास साझेदारहरूले पनि रकम थप गरी एकीकृत सेवा प्रदान गर्दा वास्तविक पीडितले छिटो र अलि धेरै सहयोग पाउन नसक्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका उपसचिव मानबहादुर कार्कीले कोषको कार्यविधि कार्यान्वयनमा आउन ढिलाइ भएको भन्दै यसको प्रचारप्रसारमा जोड दिन आग्रह गर्नुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पीडितलाई सेवा दिँदा गोपनीयताको ख्याल गर्नुपर्ने, कोषमा रकम कम भएकाले बढाउनुपर्ने, सेवा दिने प्रक्रिया पीडितमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता सेवालाई एकीकृत रूपमा सञ्चालन गर्न सकिनेमा जोड दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाका बाल कल्याण अधिकारी सरला रेग्मीले पीडितलाई उद्धार तथा अवस्था हेरी आर्थिक सहयोग गर्न सकिने, त्यसपछि व्यवसाय गर्न चाहेमा बिउपुँजी सहयोग प्रदान गर्न सकिने बताउनुभयो । उपचार खर्च बढीमा पाँच हजार, बिउपुँजी बढीमा ३० हजार रुपियाँसम्म, पुनस्र्थापनाका लागि बढीमा पाँच हजार रुपियाँसम्म, तत्काल उद्धार तथा उपचार आवश्यक परे बढीमा २५ हजार रुपियाँसम्म सहयोग गर्न सकिने प्रावधान कार्यविधिमा छ ।