• १२ मंसिर २०८१, बुधबार

राष्ट्र र राष्ट्रियताको प्राथमिक बयान

blog

राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधीनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफूलाई लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रूप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाई स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य; जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्र्थापित भयो भने देश रहने नत्र देशै नरहने भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधीनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्दा नै आजको राष्ट्रिय राजनीति प्रतिगमन उन्मुख हुने व्रmममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर्ने निश्चित छ ।

यो लेखोटको प्रसङ्ग यहाँ यसै आएको होइन । केही दिनअगाडि जीविकाको सिलसिलामा गएका जेके गजमेरले इजरायलबाटै अचानक सम्पर्क गरे । मेरो उनीसँग औपचारिक चिनजान थिएन । उनैले सिर्जना विश्वकर्मासँग ‘वैज्ञानिक बहस’ मा राष्ट्र र राष्ट्रियताको सन्दर्भमा फेसबुक लाइभ गर्न मलाई अनुरोध गरे । पश्चिम नेपालबाट राष्ट्र र राष्ट्रियताको परिभाषा पहिलो पटक सोधिएकोमा म पुलकित पनि भएँ । पूर्वी नेपालमा उदाएको र केही हदसम्म सिञ्चित भएको चेतना पश्चिम नेपालमा पुग्नुलाई चेतनाको खोजी भइरहेको अर्थमा लिएको छु । यसैको मेलोमा राखिएका यिनै कुराको विषयगत प्रसङ्ग यहाँ अभिलेख गरिएको छ ।

राष्ट्र र राष्ट्रियता

राजनीतिक विज्ञानको सिद्धान्तमा राष्ट्र भन्नाले चलनचल्ती भाकामा बुझे जस्तो देश वा कुनै राज्य होइन । राष्ट्र एक विशेष क्षेत्र भएका मानिसको ठुलो समुदाय हो । सामान्यतया एकल भाषा बोल्ने र राजनीतिक चरित्र वा राजनीतिक आकाङ्क्षा भएको समूह नै राष्ट्र हो । विश्वलाई व्याख्या गर्ने पुँजीवादी र साम्यवादी दुवै विश्व दृष्टिकोणले राष्ट्रको परिभाषा करिब–करिब एकमतले गरेका छन् । साम्यवादी दृष्टिकोण अनुसार साझा भाषा, साझा आर्थिक जीवन, साझा भूगोल र साझा मनोवैज्ञानिक संरचना भएको मानव समुदाय नै एउटा राष्ट्र हो । यस अर्थमा यी चार योग्यता पुगेका नेपालका थुप्रै जातीय समुदाय राष्ट्र हुन् । लिम्बू, किराँत (राई), नेवाः, तामाङ, तमु (गुरुङ), मगर, थारू, शेर्पा, मधेशी, खसलगायतका जातीय समुदाय नै राष्ट्र हुन् । 

माथिका चार योग्यता पूरै नखुलेका समुदाय राष्ट्रियता हुन् । राष्ट्रियता एक विशेष राष्ट्रको सदस्य त हुँदै हो । सँगसँगै यस्ता जातीय समूहहरू राष्ट्र उन्मुख सदस्य हुन् । एक विशेष राष्ट्रको सदस्य हुने क्रममा रहेका समुदाय हुन् । राष्ट्रियतालाई राजनीतिक सङ्गठनको द्योतक पनि मानिन्छ । राष्ट्रियता व्यक्तिहरूको सामूहिक सदस्यताको स्थिति हो । राष्ट्रियता र नागरिकता पर्यायवाची शब्द पनि होइन । नागरिकताको आधार सम्बन्ध राज्यसँग हुन्छ । हाम्रै देशमा केही दशक अगाडिसम्म यस्ता राष्ट्रिय समूहको नागरिकता बनाउने चलनै थिएन । आधुनिक राज्यमा प्राविधिक काम गर्न नागरिकता अनिवार्य गरिएकाले मात्र नागरिकता ग्रहण गर्न आवश्यक हुन गयो । राष्ट्रियता र बासिन्दासँग पनि ठुलो अन्तर छ । राष्ट्रियता एकल हुन्छ । बासिन्दा मिश्रित हुन सक्छ । यस अर्थमा नेपालमा थुप्रै राष्ट्र र राष्ट्रियता छन् । यी राष्ट्र र राष्ट्रियताको सम्मिलन नै आधुनिक नेपाल हो । नेपालको आधुनिक स्वरूप बनेदेखि उठेको पहिचानको आन्दोलन पनि राष्ट्र र राष्ट्रियताको सम्मिलनका लागि हो ।

समाज विज्ञानले प्रारम्भमा मानिस गण, कविला, जाति हुँदै राष्ट्रमा क्रमशः विकसित भएको परिभाषा ग¥यो । यहाँ जाति शब्द राष्ट्रियतासँग सम्बन्धित छ । यसरी समाज विज्ञानको नियम भिडाएर हेर्दा वर्तमानको नेपालमा थुप्रै राष्ट्र र राष्ट्रियता छन् । विश्व दृष्टिकोणले त प्रमाणित गरेकै छ । यसर्थ राष्ट्र भनेको देश, कुनै राज्य वा भूगोल होइन तर ती भूगोलमा बस्ने विविध परम्पराका मानव समुदाय हुन् । भिन्नभिन्न नस्ल, स्वभाव, भूगोल (ऐतिहासिक थातथलो), मनोवैज्ञानिक संरचनाका समुदाय राष्ट्र र राष्ट्रियता हुन् ।

परिभाषामा राष्ट्र र राष्ट्रियता

राष्ट्र अङ्ग्रेजी शब्द ‘नेसन’ को पर्यायवाची शब्द हो । नेसन शब्द ल्याटिन भाषाको ‘नेसियो’ शब्दबाट आएको हो । नेसियो शब्दको अर्थ जन्म र जाति हुन्छ । जन्म तथा जातिको बन्धनबाट बाँधिएका जनसमुदाय नै राष्ट्र हो । ब्रसेल्स नाम गरेका दार्शनिकले प्रस्टसँगै भनेका छन्, “एक नस्लसम्बन्धी एकताबद्ध यस्ता जनता हुन्; जुन भौगोलिक एकताको कुनै भू–भागमा बसोबास गर्दछन् ।” ब्रसेल्सले राष्ट्र निर्माणको ठोस आधार दिँदै जाति, समुदाय, आदत, प्रथा तथा धर्मको एकता जस्ता तìवहरूद्वारा राष्ट्र निर्माण हुने उल्लेख गरेका छन् । यो प्रस्टोक्तिले जाति र नस्ललाई राष्ट्रको आधार मान्न तथ्य र तर्कपूर्ण कर लाग्छ ।

नेपालको संविधानले नै पनि धारा (३) मा राष्ट्रको परिभाषा गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त भनेर परिभाषा गरेको छ । र, संविधानको धारा (४) मा नेपाल राज्य (देश) को छुट्टै परिभाषा गरेको छ । यसर्थ राष्ट्र भनेको देश या राज्यको समान अर्थ बोध गराउने शब्द हैन । बिपी कोइरालाले “राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला, साँध सीमा मात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो” भने । संविधानले नै राष्ट्रको परिभाषा बहुजातीय भनेर गरिसकेपछि अलमल गर्नु नाजायज हुन्छ । 

राष्ट्रियताको सन्दर्भ पनि योभन्दा फरक छैन । राष्ट्रियता आफ्नोपन भएको जातीय समुदाय हुन् । गण, कविलाभन्दा माथि राष्ट्रभन्दा मुनिको जाति समुदाय नै राष्ट्रियता हो । अङ्ग्रेजीमा यसै समुदायलाई ‘नेसनालिटी’ भनियो, नेपालीमा अनुवाद हुँदा जाति भयो । उद्गमको हिसाबले जाति नामकरण हुनु पनि ठिकै हो । राष्ट्रको जत्तिकै योग्यता नहोला तर आफ्ना केही कुरा जाति समुदायमा अवश्य हुन्छन् । ती सबै राष्ट्रियता अर्थात् नेसनालिटी हुन् ।

राज्य र राष्ट्र 

राज्य र राष्ट्रको भेद छुट्याउन पनि जरुरी छ । राज्य सङ्गठित एकाइ हो । आधुनिक विश्वको अनिवार्य तथा वस्तुगत र कानुनी एकाइ हो । माक्र्सवादीहरूले राज्यलाई वर्गीय असङ्गतिको उपज भने । यसैले राज्य वर्गीय हुने कुरा शाश्वत हो । राजनीतिक विज्ञानले राज्य र राष्ट्रमा नौ वटा भेद भएको प्रस्ट पारेको छ । पहिलो राज्य भनेको जनसङ्ख्या, क्षेत्र, सरकार र सम्प्रभुता भएको एकाइ हो । राष्ट्र मानिसको एउटा समूह हो; जसको साथमा समान एकता र भावना हुन्छ । दोस्रो, राज्य एउटा राजनीतिक सङ्गठन र कानुनी एकाइ मात्र हो । राष्ट्र सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, भावनात्मक र रणनीतिक एकता हो । तेस्रो, राज्यले एक निश्चित क्षेत्र कब्जा गरेर सम्प्रभुता कायम गर्छ । राष्ट्रलाई सम्प्रभुता आवश्यक पर्दैन । राष्ट्रका अन्तरङ्ग मानक छन्, जसको चर्चा माथि नै भइसक्यो । 

चौथो, राज्य सीमित हुन्छ । राष्ट्रको व्यापक दायरा हुन्छ । यसरी नै एउटै राज्यमा अनेक राष्ट्र हुन्छन् । एउटा राष्ट्रमा एकभन्दा बढी हुन्न । यस्तै छैटौँ भेद राज्य अस्थिर हुन्छ । गठन विघटन भइरहन्छ । हाम्रै छिमेकी सिक्किम, पाकिस्तानलगायत अनेकौँ राज्य गठन विघटन भएको नजिकबाट देखिएकै कुरा हो । राष्ट्र लामो कालखण्डसम्म स्थिर हुन्छ । सातौँ, राज्य बनाउन सकिन्छ । भारत, बङ्गलादेशलगायत संसारमा धेरै राज्य बनेका छन् । सोभियत सङ्घ फुटेर अनेक नयाँ राज्य बने । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । आठौँ, राज्यको एकताका लागि पुलिस, कानुन, अड्डा अदालत चाहिन्छ । राज्य जोगाउन बल प्रयोग गर्नु पर्छ । राष्ट्र बलियो सांस्कृतिक र ऐतिहासिक कडीमा जोडिएको हुन्छ । राज्यलाई सम्प्रभुता आवश्यक पर्छ । राष्ट्रलाई सम्प्रभुताको कुनै आवश्यकता पर्दैन । यसरी राज्य र राष्ट्रको भेद छुट्याउनु पर्छ । राष्ट्रले राज्य निर्माण गर्छन् । राज्यले राष्ट्र निर्माण गर्दैन । यसर्थ नेपाल बहुलराष्ट्र अथवा बहुल राष्ट्रिय–राज्य हो । कोशी प्रदेशमा उठेको आन्दोलन त्यही राष्ट्र निर्माणसँग सम्बन्धित छ । यसर्थ राष्ट्र निर्माणका लागि ऐतिहासिक पहिचानको नामकरण त्यहाँ खोजिएको हो । 

नेपालको परिचय 

नस्लको हिसाबले नेपालमा चार नस्ल आर्य, मङ्गोल, अस्ट्रो र द्रबिड समुदायका थुप्रै जातिका मानिस बसोबास गर्छन् । भाषाको हिसाबले चार भाषा परिवार भारोपेली, भोट–बर्मेली (तिब्बतो–बर्मन), अस्ट्रो र द्रबिड परिवारका असङ्ख्य भाषिक समुदाय छन् । बसोबास (थातथलो) को हिसाबले आदिवासी र गैरआदिवासी छन् । जातजाति र जनजाति छन् । शासक जाति र शोषित जाति छन् । क्षेत्रीय उत्पीडन कायमै छ । परम्परागत रूपमै उत्पीडक जाति र उत्पीडित जाति छन् । 

वर्णाश्रमको आधारमा ब्राह्मण, क्षेत्री, वैश्य, शुद्रमा विभाजित छ । दलित समुदाय उत्पीडनको पिँधमा छन् । छुवाछुत, अन्धविश्वास कायमै छ । सति प्रथा मात्र उन्मूलन भयो तर महिलामाथिको उत्पीडन कायमै छ । धार्मिक तथा तान्त्रिक अन्धविश्वास खुलेआम छ । केही अघिसम्म चार जात छत्तीस वर्णको हिसाबले नेपालको व्याख्या भयो । यतिखेर त्यसको विकसित रूप नस्लवादमा परिवर्तित स्वरूपमा छ । सँगसँगै अन्धजातिवाद आधारित जातीय अहङ्कारको गन्ध चलेको छ । समग्रमा नेपालमा अन्ध भाग्यवादले जरो गाडेको छ । यसैले नेपालको अन्तरविरोध भनेको वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय हो भनेर जनादेशले प्रमाण पुष्टि गरेको छ । यिनै आधारबाट राज्य निर्माण गर्नु नेपाल राज्यको नवनिर्माणको रूपरेखा हो ।

राष्ट्रहरूको राजीखुसीले राज्य निर्माण गर्न जरुरी छ । नेपालमा देखिएको द्वन्द्व र अन्तरविरोध यही हो । राष्ट्रहरूले जबसम्म राज्यको रूपरेखा कोर्दैनन्, तबसम्म हुने यही हो । नेपाल बहुल राष्ट्र–राज्य र बहुल राष्ट्रिय–राज्य हो । पछिल्लो आन्दोलनले पनि राष्ट्र–राज्य निर्माण गर्न नसक्दा देखिएको यो विषाक्त परिणति हो । यसका लागि राष्ट्र, राष्ट्रियताको परिभाषा बुझ्न अलमल गर्नु हुँदैन । राष्ट्र, राष्ट्रियता भनेको हिमाल, पहाड र तराई समेटिएको भूगोल होइन । यो भूगोलभित्र बस्ने विविधतापूर्ण मानव समुदाय हुन् ।   

Author

भवानी बराल