मानव जीवनमा भोजन र स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध छ । स्वस्थ जीवनका लागि भोजनको भूमिका अवर्णनीय छ । भोजनको महìव र आवश्यकता केवल शारीरिक स्वास्थ्यका लागि मात्रै नभएर यो मानसिक, आत्मिक र आध्यात्मिक स्वास्थ्यका लागि पनि त्यत्तिकै आवश्यक र महìवपूर्ण छ । मानिसको शरीरमा रोगको प्रवेश खान नपाएरभन्दा पनि खान नजानेर हुन्छ । एक छाक वा एक दिन हामीले नखाँदा वा खान नपाउँदा स्वास्थ्यलाई खासै हानि गर्दैन । एक छाक वा एक दिन हामीले अस्वस्थकर भोजन सेवन ग¥यौँ भने त्यसले स्वास्थ्यलाई गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ । त्यो एक दिनको लापरबाहीको सिकार हामी जीवनभर हुनुपर्ने अवस्था हुन्छ । त्यसैले शरीरलाई स्वस्थ राख्न सर्वप्रथम हामीले खानपिन र जीवनशैलीमा होसियार हुनुबाहेक दिगो स्वास्थ्य रक्षाको उत्तम विकल्प छैन । हामी जति जति खानामा लापरबाही गर्छौं, त्यति त्यति नै शरीरमा रोग प्रवेश गर्ने सम्भावना बढी हुन्छ । त्यसैले रोगको कारण भोजन र जीवनशैली भएकाले रोगको उपचार आधुनिक औषधी हैन, स्वस्थकर भोजन र स्वास्थ्यलाई अनुकूल बनाउने जीवनशैली हो । खासमा भोजन नै औषधी हो र औषधी नै भोजन हो भन्ने सिद्धान्तलाई सबैले आत्मसात् गर्दा स्वास्थ्य समस्या स्वतः समाधानको दिशामा अग्रसर हुन्छ ।
खानपिन र अनुशासित जीवनशैली भनेको निरोगी रहने भरपर्दो सूत्र हो । बाल्यकालको शिक्षामा नै भोजनको महत्व र स्वास्थ्य अनुशासनको विषय पाठ्यक्रममा समावेश नगर्नु शिक्षाका योजनाकारको भुल हो । जाने भोजन नजाने विष भन्ने शैक्षिक कार्यक्रममा समावेश भएको भए आज यति धेरै रोग र यति धेरै रोगी हुने नै थिएनन् । हामीले जीवनलाई स्वस्थ राख्ने उपचार विधिसम्बन्धी ज्ञान पनि स्वास्थ्य रक्षा गर्ने राम्रो अनुसन्धान हो । हामीले शिक्षामा फड्को मारेका छौँ । हाम्रो ज्ञान र चेतनाको स्तर बढेको छ । स्वास्थ्यसम्बन्धी छलफल, अन्तर्क्रिया, अनुसन्धान र अध्ययनको घेरा बढेको छैन । हामी अन्य कुराको देखासिकी गर्दछौँ तर स्वस्थ भोजन र ज्ञानको घेरा सँगसँगै हामीले आफ्नै शरीरको प्रकृतिलाई बुझ्ने कोसिस किन गर्दैनौँ ? हामीले आफ्नो शरीरको प्रकृति खानपिन र जीवनशैलीको प्रभाव र कारणको विषयमा अध्ययन, अनुसन्धान, छलफल, अन्तर्वि्रmया गर्ने संस्कृति र संस्कार नै बसाएका छैनौँ । राजनीतिका विषयमा हुने बहसको अनुपातमा हामीले स्वास्थ्यसम्बन्धी सघन बहस समाजमा चलाएको भए यसले समाजको स्वास्थ्यको अवस्था निश्चित रूपमा सुध्रन्थ्यो । स्वास्थ्य र जीवनशैलीबारे आफूले जानेका बुझेका विषयको ज्ञानको आपसी लेनदेनको संस्कार हामीमा नहुँदा एकले जानेको विषयबाट अर्कोले लाभ लिन नसक्ने हाम्रो सामाजिक रीतिरिवाज पनि स्वस्थ र खुसी जीवनका लागि प्रतिकूल छ ।
रोग र रोगीको सङ्ख्यात्मक वृद्धिले एकातिर श्रमशक्तिको कटौती भएको छ भने अर्कोतिर उपचार र औषधीमा बढ्दो खर्चले देश कहालिलाग्दो आर्थिक सङ्कटमा छ । खानपिनको अनुशासन जुन अनुपातमा भङ्ग हुन्छ, शरीरमा रोगको प्रवेशमा वृद्धि पनि त्यही अनुपातमा हुन्छ । खानपिनका विषयमा सबै धर्मले एक प्रकारको अनुशासन बसाए पनि त्यसलाई भङ्ग गर्ने हाम्रो चरित्रले समाजलाई रोगग्रस्त बनाएको छ । रोगका कारण, परिणाम र उत्तम उपचार विधिका विषय छलफल र अन्तर्क्रियाको विषय नबन्नु पनि रोगको बिगबिगी र सङ्व्रmमणको कारण भएको विषयप्रति हाम्रो समाजले जहिलेसम्म बेवास्ता गर्छ, त्यति बेलासम्म खाद्य अनुशासन, रोगको उचित उपचार र नियन्त्रणको विषय हाम्रो काबुबाहिर हुन्छ ।
स्वास्थ्यका पनि निश्चित नियम हुन्छन् । विधि, व्यवहार र मर्यादा साथै आचरण हुन्छन् । तिनीहरूको नियम, विधि व्यवहारप्रतिको निष्ठामा स्खलन भयो भने मानव स्वास्थ्यमा गडबडी उत्पन्न हुन्छ । रोगी हुनु भनेको स्वास्थ्यसम्बन्धी नियम, विधि, व्यवहार र मर्यादाको बेवास्ता गर्नु हो । स्वास्थ्य प्रकृतिसँग सम्बन्धित विषय हो । प्रकृति र स्वास्थ्यको नियमको पालना गरिएन भने दण्डित हुनुको विकल्प छैन । स्वास्थ्यसम्बन्धी विधिको पालना नगर्ने दण्डित हुन्छन् । रोगी हुनु भनेको स्वास्थ्यसम्बन्धी नियमको उल्लङ्घन गरेबापतको दण्ड हो । त्यो दण्डबाट जोगिनका लागि स्वास्थ्यसम्बन्धी नियमको अक्षरशः पालन गर्नुको विकल्प छैन । हाम्रो मुख्य भुल भनेको स्वास्थ्यका नियमलाई अवहेलना गरेर आधुनिक औषधीको सहारामा बाँच्ने दुष्प्रयास हो । त्यसले देशमा रोग र रोगीको सङ्ख्यालाई बढाएको छ । रोगी मानिस घर, परिवार, समाज र देशकै लागि बोझ भएका छन् । रोगका कारण धेरै मानिसको श्रम समय बर्बाद भएको छ । एकातिर औषधी र उपचारमा अन्धाधुन्ध खर्च भएको छ भने अर्कोतिर श्रम क्षमताको ह्रासका कारण सम्बन्धित मानिस त दुःखी हुनु स्वाभाविकै हुन्छ र त्यसले घर, परिवार र समाजलाई नै दुःखी र गरिब बनाएको छ । स्वास्थ्यसम्बन्धी नियम उल्लङ्घनले व्यक्ति, परिवार, समाज र राष्ट्र नै दण्डित भएको छ । त्यसैले स्वास्थ्य चेतना र प्राकृतिक चिकित्सा पद्धतिको अनुसरण निरोगी हुने पूर्वाधार हो । शरीर पनि एक प्रकारको इन्जिन हो । खाद्य पदार्थ स्वस्थकर नहँुदा शरीरमा विषाक्त वस्तु सङ्ग्रहित हुन्छन् । ती विषाक्त वस्तु निष्कासन गर्ने विधिको पालना नै एक मात्र शरीरलाई स्वस्थ राख्ने उपाय हो । त्यो उपाय प्राकृतिक चिकित्सा विज्ञानमा मात्रै सम्भव छ ।
खाना अर्थात् भोजन भोको पेटलाई भर्ने साधन मात्रै हैन, यो शरीरलाई शक्ति दिने र जीवनी शक्ति रक्षा गर्ने निर्विकल्प साधन पनि हो । सबैभन्दा उत्तम खाना चोकर भएको पिठोको रोटी, तरकारी, बिनापोलिसको चामल, दाल आदि खानु स्वास्थ्यका लागि उत्तम हुन्छ । रेसादार तरकारी शरीरलाई निरोगी राख्ने भरपर्दाे पूर्वाधार हो । कुन कुन तरकारीमा धेरै रेसा हुन्छ, त्यसको छनोट र पौष्टिक तत्वलाई विनाश नगरीकन खानु नै स्वास्थ्य रक्षाको मूलभूत विषय हो । हाम्रो शरीरलाई निरोगी र स्वस्थ राख्न कच्चा सागपात, काँक्रो, मुला, गाँजर, सलगम, चुकन्दर जस्ता वस्तु काँचै सेवन गर्नु पर्छ । सकेसम्म खाद्य पदार्थको २५ प्रतिशत खाना काँचै खानु स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिन्छ । हरेक फल, तरकारीमा आआफ्नै प्रकारको स्वाद र पौष्टिक तìव हुन्छ । हामीले त्यसलाई मसला, पिरो, चिल्लोले नष्ट पारिरहेका हुन्छौँ । यसरी मसालेदार खाना पनि स्वास्थ्यका लागि प्रतिकूल हुन्छ । हामीले शरीरका लागि खाने कि जिब्रोका लागि खाने ? यो निर्णय हामीले विवेकपूर्ण तरिकाले गर्न सक्नु पर्छ । अन्यथा रोगग्रस्त हुनुको विकल्प छैन । रोगी भएर बाँच्ने कि निरोगी भएर बाँच्ने भन्ने निर्णय खाद्य अनुशासन, जीवनशैली, व्यायाम जस्ता विषयमा भर पर्छ । खाना कति मात्रामा खाने ? कुन कुन बेला खाने ? केसँग के खाने र केसँग के नखाने जस्ता विषय स्वस्थ रहन हामी सबैले जान्नुपर्ने र अक्षरशः पालना गर्नुपर्ने विषय हुन् ।
जीवधारीका लागि स्वस्थ खाना खाने विषय प्रमुख हो । खानाको मात्रा व्यक्तिको आयु, स्त्री, पुरुषको शारीरिक गतिविधि, व्यक्तिको स्वास्थ्य र मात्राका आधारमा फरक फरक हुन सक्छ । जीवनशैली र स्वास्थ्यको अवस्था अनुसार पनि खानाको फरक फरक तालिका हुन्छ । आफ्नो आहारको मात्रामा प्रोटिन, कार्बाेहाइड्रेट, भिटामिन र मिनरल आदि महत्वपूर्ण हुन्छन् । स्वस्थ आहारले जीवनमा क्रियाशील रहन मद्दत गर्छ भने अस्वस्थ आहारले जिब्रोका लागि स्वादिलो त हुन्छ तर जीवनलाई रोगी बनाउनुका साथै निष्व्रिmय जीवन बाँच्न बाध्य बनाउँछ । अस्वस्थ भएपछि शरीरको ऊर्जा नष्ट हुन्छ । मानसिक शारीरिक दुवै प्रकारले अस्वस्थ जीवन अभिशाप हो । त्यसैले के खाने, कति खाने, कसरी खाने, कुन समयमा खाने भन्ने विषय वस्तुको ज्ञान नै स्वस्थ जीवनको बुटी हो । गलत खानपानले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन्छ । शरीरमा आवश्यक पोषक तìवको कमी हुनु भनेकै शरीरमा रोगको प्रवेश हुनु हो । अस्वस्थकर भोजन र जीवनशैलीले शरीरले उचित ऊर्जा र पोषण प्रदान गर्दैन । जसले गर्दा शरीरमा ऊर्जा कम हुने सम्भावना हुन्छ र परिणामस्वरूप उच्च रक्तचाप, मोटोपन, मधुमेयलगायतका रोगले शरीरमा डेरा जमाउन थाल्छन् । त्यसपछि हामी अनगिन्ती स्वास्थ्य समस्यासँग जुध्न बाध्य हुन्छौँ ।
आफूले खाएको भोजन तथा अन्य पदार्थले के असर ग¥यो भन्ने थाहा जसलाई हुँदैन वा जसले त्यसबारे बेवास्ता गर्छ, ऊ निश्चित रूपमा रोगको सिकार हुन्छ । खानाले शरीरलाई अस्वस्थ गर्ने धेरै कारण छन् । जस्तै : अस्वस्थकर, मसालेदार, तेलिययुक्त, बासी र सडेगलेका खाना तथा अधिक मात्रामा अल्कोहल, तम्बाखु, सुर्ती, पान, गुटका आदिको सेवनले शरीरलाई अर्थात् स्वास्थ्यलाई हानि गर्छ । त्यस्तो खाना निःसन्देह विभिन्न रोगको कारण बन्न सक्छ । त्यस कारण स्वास्थ्य समस्या उत्पन्न हुन नदिन अस्वस्थकर खानाबाट टाढा रही प्रत्येक दिनको भोजनमा पोषक तत्वयुक्त खाना समावेश गर्नु पर्छ । नियमित व्यायाम, समयमा खानपान र आराम गर्ने विषयमा समय तालिका अनुसार आफूलाई अनुशासित राख्न सकियो भने यसले मानिसलाई निरोगी राख्छ ।
हाम्रो पुर्खाले भन्ने गरेको जस्तै बेलुकाको खाना घाम छँदै खानु अति उत्तम हो, जुन कुरा विज्ञानले पनि पुष्टि गरेको छ । किनकि साँझको खानापछि हामी तुरुन्तै सुत्यौँ भने शरीरका अवयव अर्थात् पाचन प्रणाली निष्व्रिmय जस्तै हुन्छ । निष्व्रिmय पाचन प्रणालीले हाम्रो खाना जब पच्दैन, त्यसले आमन्त्रण गर्ने भनेको रोग हो । खानापछि तुरुन्तै सुत्नु भनेको रोगलाई निमन्त्रणा गर्नु हो । आफ्नो शरीरको रेखदेख र शरीरको भाषालाई राम्रोसँग नबुझ्ने व्यक्तिले अन्य काम पनि राम्रोसँग गर्न सक्दैन । स्वास्थ्य रक्षाका विषयमा जो जानकार छैन, ऊ जति नै पढे पनि विवेकशील र ज्ञानी भनिँदैन । त्यसैले होला योग, औषधी विज्ञानसँग सम्बन्धित धेरै विषयका लागि हाम्रा ऋषिमुनिहरूको योगदान अवर्णनीय छ ।
आधुनिक औषधी विज्ञानको कमजोरी भनेको नै कारणको उपचार नगरेर प्रभावको उपचार गर्नु हो । प्राकृतिक चिकित्सा प्रभावको उपचारमा केन्द्रीकृत हुन्न । उसको ध्यान र उपचार कारणमा हुने भएकाले आधुनिक औषधी विज्ञानले जस्तो रोगीलाई सधैँ औषधीको भारी बोकाउने र थामथुममा मात्रै सीमित नभएर प्राकृतिक चिकित्सा रोगलाई जरैदेखि उखलेर निर्मूल गर्ने र नियमित औषधी सेवनको झन्झट पनि गर्न नपर्ने भएकाले प्राकृतिक उपचार मानव मात्रका लागि ईश्वरीय वरदानभन्दा अत्युक्ति हुन्न । हामी रोगी हुनुको मुख्य कारण खान नजानेर हो न कि खान नपाएर ?