• २४ वैशाख २०८१, सोमबार

विदेशी लगानी प्रतिबद्धतामा कमी

blog

काठमाडौँ, असोज ६ गते ।  चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो । 

उद्योग विभागको तथ्याङ्क चालु आवको साउन र भदौ महिनामा १४ अर्ब ६५ करोड ४२ लाख ३० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । १११ वटा परियोजनामार्फत सो लगानी आएको हो । साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो ।

विभागका अनुसार दुई महिनाको अवधिमा १११ वटा उद्योगमा आएको वैदेशिक लगानीमध्ये साना उद्योग १०४, मझौला पाँच र साना उद्योग दुई रहेका छन् । सबैभन्दा धेरै लगानी पर्यटन, सूचना प्रविधि र सेवा क्षेत्रमा आएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले ठुला लगानीकर्ता बढेकाले साउन महिनाको तुलनामा भदौ वैदेशिक लगानीमा प्रतिबद्धतामा कमी आएको जानकारी दिनुभयो । 

चालु आवको दुई महिनाको अवधिमा होटल क्षेत्रमा मात्रै चार अर्ब बढी लगानी प्रतिबद्धता जनाएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौ महिनामा मात्रै देशका विभिन्न स्थानमा होटल सञ्चालन गर्न चार अर्ब २५ करोड १८ लाख रुपियाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागमा दुई महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताले २० वटा होटल सञ्चालन गर्ने प्रतिबद्धतासहित दर्ता गरेको छ । विभागमा दर्ता भएको अधिकांश होटल साना प्रकारका छन् । साना प्रकारका होटलमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ । दुई महिनाको अवधिमा ठुला लगानीका तारे होटल निर्माण होटल सञ्चालन गर्ने भन्दै स्वदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता जनाएका छन् । त्यसबाहेक तीन वटा मध्यम र १५ वटा साना होटलमा लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।

अघिल्लो आव अर्थात् २०७९/८० मा वर्षभरि कुल ३८ अर्ब ४६ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी स्वीकृत भएको थियो । गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धता कमी आएको थियो ।  विभागका अनुसार सुरुदेखि हालसम्म चार खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार वैदेशिक लगानी स्वीकृत भएको छ । स्वीकृत भएको वैदेशिक लगानीमध्ये ३० देखि ३५ प्रतिशतसम्म भित्रिने गरेको बताइएको छ ।