राजु लामिछाने
रुकुमपश्चिम, असोज ५ गते । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिले अवैध भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मुसीकोट नगरपालिका वडा ६ मैलचौरका ३६ वर्षीय झकेन्द्र भण्डारीलाई बिहीबार बेलुका पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार आफ्नै घरमा अवैध हतियार लुकाई राखेको गोप्य सूचना पाएपछि प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेका हो ।
पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले दुई नाल भरुवा बन्दुक, भरुवा बन्दुकको पुरानो नाल एक थान, नाल बनाउन प्रयोग हुने पाइप एक थान, सर्ट गनको कार्टिज पाँच थान, बारुद बनाउन प्रयोग गरिने पदार्थ ५० ग्राम, सोडाजस्तो देखिने पदार्थ पाँचसय ग्राम पनि बरामद गरिएको छ ।
त्यसैगरी फलामको छर्रा ६ थान, फलामको रडका टुक्रा १५ थान, क्यापमा प्रयोग हुने पटका २० रोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बारुदजस्तो देखिने पदार्थ ५६५ ग्राम र ९० ग्रामको दुई डिब्बा, वायरिङ १४ थान, साइकलको वायरिङ १५० थान पनि बरामद गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।
पक्राउ परेका भण्डारीलाई रुकुम अदालतबाट म्याद थपगरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।