गोरखापत्र अनलाइन
काठमाडौं, असोज ५ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधजन्य घटना नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउनेभन्दा हिंसालाई प्रोत्साहन गर्नेतिर केन्द्रीत रहेको उहाँले टिप्पणी गर्नुभयो । फागुन १ गते माओवादी विद्रोह सुरु भएको दिनलाई सार्वजनिक विदा दिने सरकारको निर्णय उचित नरहेको उहाँले बताउनुभयो ।
सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुगाउने उल्टो बाटो हिँडिरहेको बताउनुभयो । अध्यक्ष ओलीले सरकारको ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको पनि टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हिंसा दिवस र शान्तिप्रक्रिया सँगसँगै जान नसक्ने हो । एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन अन्याय र अपमान हुन्छ । सरकारले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गरिराखेको छ ।”
अध्यक्ष ओलीले सरकारले अपराधजन्य काममा लाग्न नहुनेभन्दै मुलुकमा शान्ति व्यवस्था कायम गर्न कानुनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो । सरकारको ध्यान मुलुक बनाउनुभन्दा सत्ता बचाउनमा मात्र केन्द्रित रहेको उहाँले टिप्पणी गर्नुभयो ।