• १४ मंसिर २०८१, शुक्रबार

साढे चार महिनापछि मन्त्रीहरुको सम्पत्ति सार्वजनिक

blog

फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण बिहीबार सार्वजनिक भएको छ । गएको वैखाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका सुरेन्द्रराज पाण्डेले वैशाख अन्तिममा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्नेसहितका निर्णय गरेको थियो । गण्डकी प्रदेशमा मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको दुई महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने आचारसंहिता छ । सबैजसो मन्त्रीहरुको सम्पत्तिको स्रोत पैतृक, व्यवसाय, सेयर देखाउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेको गोरखा र काठमाडौंमा घर छ । गोरखाको पालुङटार –१, खोप्लाङ स्थायी ठेगानामा उहाँको पाँच रोपनीभित्र घर र जग्गा छ । दुवैतिरका घर उहाँका पैत्रिक सम्पत्ति हुन् । कपिलवस्तु र भक्तपुरमा उहाँको नाममा थप जग्गा छन् । सम्पत्ति विवरणमा उहाँसँग ४२ तोला सुन, पाँचसय तोला चाँदी र २ सेट हिरा रहेको उल्लेख छ । 

मुख्यमन्त्रीको बैंक मौज्दात २४ लाख ९६ हजार र उहाँकी पत्नी विनाको नाममा प्रभु बैंकमा ६० लाख रुपियाँ रहेको विवरणमा उल्लेख छ । सरकारकी प्रवक्तासमेत रहनुभएकी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको नाममा स्याङ्जा र कपिलवस्तुका विभिन्न ठाउँमा जग्गा देखिन्छ । 

उहाँले ९५ लाख ऋण रहेको विवरणमा देखाउनुभएको छ । अर्यालसँग नगद २३ लाख, सुन २२ तोला र चाँदी ४० तोला देखिन्छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको म्याग्दीको मालिका गाउँपालिकामा दुई वटा घर छन् ।  उहाँसँग ट्याक्टर, स्काभेटर र मोटरसाइकल छन् । मन्त्री जुग्जालीले ६० लाख ऋण देखाउनुभएको छ ।

सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले नवलपुरको गैंडाकोटमा जग्गा, श्रीमान्को नाममा जुम्लाको तातोपानीमा पुख्र्यौली घर, सम्पत्ति रहेको र ललितपुर गोदावरीमा जग्गा रहेको विवरण देखाउनुभएको छ ।  

कृषि तथा भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको छ । नवलपुर सुस्तापूर्व बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गर्नुभएको छ । 

कृषिमन्त्री जिसीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उहाँले पैतृक नै भएको बताउनुभएको छ । जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पत्ति विवरण बुझाउनुभएको छ । स्वआर्जनबाट जिसीले एउटा ट्याक्टर खरिद गरेको उल्लेख गर्नुभएको छ । 

गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले स्थायी ठेगाना भीमाद –६, तनहुँ हो । उहाँको आफ्नै र सगोलमा गरी भिमादमा ३० कित्ता जग्गा देखिन्छ भने ३४ लाख ७० हजार ऋण रहेको विवरणमा उल्लेख छ । उहाँसँग २१ तोला सुन र २७ तोला चाँदी छ । आलेसँग ३३ हजारमा किनेको लाइसेन्ससहित १२ बोर बन्दुक पनि रहेको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापासँग बागलुङमा घरजग्गा र कास्कीमा दुई कित्ता जग्गा छ । उहाँले ३७ लाख रुपियाँ देखाउनुभएको छ । विवरणअनुसार उहाँसँग साढे ११ लाखमा किनेको ट्याक्टरसमेत छ ।