• ११ मंसिर २०८१, मङ्गलबार

सहमतिपछि खुल्यो नेसंविमा लागेको ताला

blog

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, असोज ५ गते ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि एक महिनादेखि नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु कार्यान्वयन गरिने, सेवा आयोगका आगामी विज्ञापनहरुमा आवेदन फारमहरुमा अनलाइन भर्ने व्यवस्था मिलाउने सहमति भएको छ । यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय अतिसंवेदनशील शाखा विभागमा कार्यरत प्राध्यापक र कर्मचारीको आवश्यकता र औचित्यको आधारमा न्यायोचितरुपमा व्यवस्थापन गर्ने र सेवा आयोगले लिने कर्मचारी पदका विज्ञापन सम्बद्ध परीक्षाहरु केन्द्रीय कार्यालय दाङमै सञ्चालन गर्ने सहमति भएपछि भदौ ४ गतेदेखि लागेको ताला खुलेको हो ।

बिहीबार ताला खुलेपछि शुक्रबारदेखि नेपाल संस्कृत विश्वविद्यालको केन्द्रीय कार्यालय तथा सेवा आयोगको कार्यालय सञ्चालनमा आएको छ ।

वार्तामा संस्कृत विश्वविद्यालयका तर्फबाट वार्ता टोली संंयोजक डा.जर्मन चौधरी, सदस्य किशोरचन्द्र गौतम र कपिलदेव सुवेदी र अखिल क्रान्तिकारीकातर्फबाट विद्यार्थी नेता विष्णु चौधरी, गणेश पौडेल र बिन्दु खड्काको सहभागिता थियो  । गत साउनको ३१ गते विश्वविद्यालय र नेपाल विद्यार्थी सङ्घका बीच भएको वार्तामा सेवा आयोगका सबै परीक्षाहरु लोकसेवा आयोगलाई सञ्चालन गर्न दिनेलगायतका सहमति भएपछि संस्थाको गरिमालाई आँच पुुग्ने गरी सहमति गरिएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको  थियो ।