• २ जेठ २०८२, शुक्रबार

प्रयोगमा आएन प्रयोगशाला

blog

रजनी योगी

सुर्खेत, असोज ५ गते । प्रदेश सरकारले सल्यानको कपुरकोट–३ र पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेमा दुई वर्षअघि विषादी परीक्षण प्रयोगशाला स्थापना गरे पनि सञ्चालनमा ल्याउन सकेको छैन । विषादी परीक्षण मेसिन खरिद गरी ल्याउन नसक्दा कार्यालय सञ्चालनमा नआएको बताइएको छ । सो कार्यालयमा प्रदेशको एकीकृत प्रयोगशालाबाट दुई जना कर्मचारी खटाइएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार कार्यालय सञ्चालन भए पनि प्रयोगशालामा मेसिन छैन । उपकरण उपलब्ध नभएकाले प्रयोगशाला सञ्चालनमा नआएको हो । दुई महिनामा सल्यान र भेरीगङ्गामा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ । यसो भन्ने गरिएको पनि दुई वर्ष बितिसकेको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माका अनुसार कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भएको छ । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट यसै वर्षदेखि तथ्याङ्क व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ ।

मन्त्री शर्माले कर्णाली प्रदेशको उत्पादन आयात निर्यात तथ्याङ्क व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गरिने बताउनुभयो । 

उहाँले कर्णाली प्रदेश तरकारी उत्पादनमा आत्मनिर्भर भएकाले भारतीय विषादीसहितको तरकारी रोक्न कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । प्रयोगशाला सञ्चालनका लागि भारतबाट उपकरण खरिद गरेर ल्याइने जनाइएको छ । मन्त्री शर्माका अनुसार एउटा उपकरण नेपाल ल्याइसकिएको छ । अन्य आवश्यक उपकरण खरिद गरेर विषादी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी भएको छ ।

कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशाला मातहतमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गरिने छ । त्यसका लागि प्राविधिक जनशक्ति अभाव हुँदा पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेमा कर्मचारी परिचालन गरिएको छैन । 

प्रदेशमा जनशक्तिको कमी

प्रदेशको एकीकृत कृषि प्रयोगशालाले जनशक्तिको अभाव झेलिरहेको छ । प्रयोगशालाको सेवा क्षेत्र विस्तार भए पनि जनशक्ति पर्याप्त छैन । जनशक्ति अभाव हुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको कार्यालय प्रमुख पर्शुराम रावतले बताउनुभयो ।

कर्णाली प्रदेशमा रहेको एक मात्र प्रयोगशालाका पाँच वटा शाखा छन् । कार्यालयले तीन वटा प्रयोगशाला एकै स्थानबाट सञ्चालन गरिरहेको छ । बिउबिजन परीक्षण प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालनमा छन् । कार्यालयलाई कपुरकोट र हर्रेमा विषादी परीक्षण प्रयोगशाला हेर्ने जिम्मेवारी रहेको छ । पछिल्लो समय कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको रावतको भनाइ छ । 

कार्यालयमा स्वीकृत दरबन्दी १८ जनाको हो । हाल स्थायी कार्यरत १३ जना रहेका छन् । पाँच वटा दरबन्दी रिक्त छन् । १३ जना स्थायी कार्यरत कर्मचारीमध्ये प्राविधिक कर्मचारी सात जना रहेका छन् । सेवा क्षेत्र धेरै काम गर्ने प्राविधिक जनशक्ति नहुँदा समस्या भइरहेको रावतले जानकारी दिनुभयो । उहाँका अनुसार १८ जनाको दरबन्दी कायम गरेर पाँच वटा शाखाको जिम्मेवारी दिइएको छ । कार्यालय सञ्चालनका लागि दरबन्दी नै अपुग रहेको र कायम गरिएको दरबन्दी समेत रिक्त हुँदा समस्या भइरहेको छ । पाँच वटा शाखा सञ्चालनका लागि कायम गरिएको दरबन्दी अपुग हुने कार्यालयले जनाएको छ । कार्यालयमा स्वीकृत दरबन्दी १८ जनाको हो । स्थायी कार्यरत १३ जना रहेका छन् । प्रयोगशालामा प्राविधिक कर्मचारी अभाव रहेको प्रमुख रावतले बताउनुभयो ।