• १४ मंसिर २०८१, शुक्रबार

पहिरो पीडितलाई ग्यास सिलिण्डर र चुल्हो वितरण

blog

पहिरो पीडित परिवारलाई वितरण गरिएको ग्यास सिलिण्डर।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ४ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ। दाउराको विकल्पमा प्रयोग गर्नेगरी मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलसहितका पहिरो पीडित ६५ परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको हो।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गोर्खा वेल्फेयर ट्रस्टले ग्यास सिलिण्डर र चुल्होसहितका सामग्री बिहीबार पीडित परिवारलाई वितरण गरेको हो। अध्यक्ष वनेमकाअनुसार भान्सा कोठामा दाउराको प्रयोग गर्दै आइरहेका पहिरो पीडित परिवारलाई सहयोग गर्न गाउँपालिकाले ट्रस्टसमक्ष आग्रह गरेको थियो। 

गाउँपालिकाको आग्रहअनुसार गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुएस) ले प्रतिपरिवार एकसेट ग्यास सिलिण्डर र चुल्हो लगायतका सामग्री उपलब्ध गराएको वनेमले जानकारी दिनुभयो। उहाँकाअनुसार ग्यास सिलिण्डर, चुल्हो सेटबाहेक अन्य प्रेसर कुकर, थाल, बटुकालगायतका भाँडावर्तनका सामग्री रहेको पीडित परिवारलाई वितरण गरिएको छ। 

ट्रस्टका प्रतिनिधिको उपस्थितिमा पहिरो पीडित परिवारलाई ग्यास चुल्हो सेटसहितका सामग्रीहरू वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो। उहाँकाअनुसार गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण विस्थापित तथा प्रभावित परिवारलाई ट्रस्टले सहयोग उपलब्ध गराएको हो।

यता पहिरो पीडित परिवारहरूलाई सुरक्षित ठाउँमा राख्नका लागि गाउँपालिकाले साँघुकै एक सार्वजनिक जग्गामा अस्थायी आवास गृह (घर) निर्माण गरेको छ। निर्माणाधीन मदन भण्डारी रङ्गशालामा निर्माण गरिएको अस्थायी घरमा केही दिनभित्रै पीडित परिवारलाई बसाउने र उनीहरूलाई औपचारिक रूपमा घर हस्तान्तरण गर्ने गाउँपालिकाले तयारी गरिरहेको बताइएको छ।