• २७ वैशाख २०८२, शनिबार

दलको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : नेता सिटौला

blog

कार्यक्रममा सहभागी नेता ।

काठमाडौं, असोज ४ गते। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ। 

बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरे अनुरूपका काम अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरू भएका बताउनुभयो। उहाँले राजनीतिक दल एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताउनुभयो। उहाँले राजनीतिक दलहरू आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुन्छ। बेपत्ताको छानबिन आयोग गठन हुन्छ। त्यसले अनुसन्धान गर्छ। त्यसले निष्कर्ष निकाल्छ। द्वन्दपीडितले न्याय पाउँछन् भन्ने हाम्रो घोषणा हो। त्यो अहिले पनि पूरै अधुरो छ। मलाई आफूलाई लाग्ने यो मुख्य रूपबाट राजनीतिक नेतृत्वको, अहिले संसदभित्र भएका राजनीतिक नेतृत्व त्यसमा पनि यही शान्ति प्रक्रिया निर्माण गर्ने, १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान निर्माण र यो निर्वाचनबाट संसदमा पुगेका दलहरूको मूल्याङ्कन गर्ने हो। तिनै परिवर्तनकारी शक्तिहरूको पहुँच र प्रभाव छ अहिले संसदमा पनि। तर त्यसबेलाका परिवर्तनकारी, आन्दोलनकारी शक्तिहरू एक ठाउँमा उभिए भने उहाँहरूले सहजै समाधान दिन सक्नुहुन्छ। तर समस्या जस्तो लागेको छ। म आग्रह गर्न चाहन्छु राजनीतिक दलका नेताहरू बिचको सम्बन्धलाई, उहाँहरू बिचको विश्वासलाई तपाईँहरूले मूल्याङ्कन गर्नुस्। विश्वासको दायरामा ल्याउनुस्। धेरै लामो समय लाग्दैन। लामो समय पर्खिनु पर्दैन।’’

नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बद्लाएको भावनाले सिर्जना नगरिएको स्पष्ट पार्नुभयो। विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्ताबेज भएको उल्लेख गर्नुभयो।