• १३ मंसिर २०८१, बिहिबार

गोरखाका श्रेष्ठ र जुम्लाकी न्यौपानेलाई उर्लाबारी रन उपाधि

blog

उपाधि विजेता खेलाडी । तस्बिर : हरि कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज ४ गते । छैटौं संस्करणको उर्लाबारी रन २०८० को उपाधि गोरखाका सञ्जय श्रेष्ठले जित्नुभएको छ । सामुदायिक विकास मञ्च उर्लाबारी मोरङले आयोजना गरेको उर्लाबारी रनका लागि तय भएको १० किलोमिटर दूरी श्रेष्ठले ३१ मिनेट ५४ सेकेन्डमा पूरा गरी जित्नुभएको हो । 

निर्धारित दूरी ३३ मिनेट १० सेकेण्डमा पूरा गर्दै काठमाडौंका शिवबहादुर रायमाझी दोस्रो र मोहनदेव जोशी ३३ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै तेस्रो हुनुभयो । 

संविधान दिवसको अवसरमा आयोजित प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जित्नुभयो । महिलातर्फ प्रथम हुनुभएकी न्यौपानेले ४० मिनेट ३९ सेकेण्डमा उक्त दूरी पूरा गर्नुभयो । 

सुनसरी तरहराकी सचिना राई ४६ मिनेट १० सेकेण्डमा दूरी पूरा गर्दै  दोस्रो र धरानकी छिङ्वीमाया राई ४७ मिनेट २ सेकेण्डमा दूरी पूरा गरी तेस्रो हुनुभयो ।  खुला पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँसहित पदक र प्रमाणपत्र वितरण गरियो । 

यस्तै, भेट्रान पुरुषतर्फ झापा अर्जुनधाराका जयनरेश सिंह प्रथम, सुनसरी धरानका धनकुमार राई दोस्रो र उर्लाबारीका हेमन्त लावती तेस्रो हुनुभयो । भेट्रान महिलातर्फ धरानकी जमुना लिम्बू प्रथम, उर्लाबारीकी चेतनु रार्ई दोस्रो र उर्लाबारीकै मञ्जु लिम्बू तेस्रो हुनुभयो । 

भेट्रानतर्फ पुरुष र महिला दुबै प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँसहित पदक र प्रमाणपत्र वितरण गरियो । 

यसैगरी, १६ वर्षमुनिका बालबालिकातर्फ ५ किलोमिटर दौडमा बालिकातर्फ भोजपुरकी विनीता राई प्रथम, उर्लाबारीकी पीयूष राई दोस्रो, धरानकी सेहाङ राई तेस्रो र उर्लाबारीकी विनीता तामाङ चौथो हुनुभयो । विजेताहरूला क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । 

१२ वर्षमुनिका साढे ३ किलोमिटर दौडमा बालिकातर्फ भोजपुरकी जुडी राई प्रथम, भोजपुरकै रस्मी राई दोस्रो, उर्लाबारीकी मिस्यु धिमाल तेस्रो र उर्लाबारीकी मीना मुर्मु चौथो भए । विजेताहरूलाई क्रमश: ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपियाँ पदक र  प्रमाणपत्र प्रदान गरिएको थियो । 

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलले पुरस्कार तथा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।उर्लाबारी रनको  छैटौं संस्करणमा देशभरका १ हजार जनाले सहभागिता जनाएका थिए ।