काठमाडौँ, असोज ४ गते । एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार क्लब इन्टरनेसनलले एनएसआरए टिम बीलाई तीनै खेलमा हरायो । सातदोबाटोस्थित स्क्वास हलमा क्लब इन्टरनेसनलका इटालीका रेन्जो एन्डोर्नोले पछिल्लो एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका राजेन्द्र शाक्यलाई सीधा सेटमा ३–० ले हराउनुभयो ।
रेन्जो होङजाउ एसियाडमा प्रतिनिधित्व गर्ने नेपाली स्क्वास टिमलाई प्रशिक्षण दिन नेपाल आउनुभएका प्रशिक्षक हुनुहुन्छ । ‘क्वालिफाइड लेभल टु’ प्रशिक्षक रेन्जोले गत जेठ महिनामा पनि नेपाली राष्ट्रिय स्क्वास टिमलाई एक महिना प्रशिक्षण दिनुभएको थियो ।
क्लब इन्टरनेसनलाई जित दिलाउन अन्य खेलमा अस्ट्रेलियाका इशाक बेल हर्बर्टले प्रवीणवीर सिंह कंसाकारर्लाइ ३–१ र धीर पुनले प्रज्वल प्रधानलाई ३–० ले हराउनुभयो । क्लब इन्टरनेसनलको दुई खेलबाट आठ अङ्क बनाएर समूह बिमा अग्रस्थान बनाएको छ । एनएसआरए बी दोस्रो स्थानमा छ ।
आयोजक एनएसआरए टिम एले समूह एमा शीर्ष स्थान बनाउने क्रममा आफ्नाे दोस्रो खेलमा एनएसआरए टिम सीलाई तीनै खेलमा हरायो । दीपक थापाले पासाङ लामा र दिव्यराज बज्राचार्यले राकेश परियारलाई ३–० र उमित शाक्यले विकास मगरलाई ३–१ ले निराश बनाउनुभयो ।
अन्य स्पर्धामा ब्रिटिस आर्मी एले ब्रिटिस आर्मी सीलाई २–१ ले पराजित गर्यो । सुनील रानाले शेरजङग थापालाई ३–० ले हराएर ब्रिटिस आर्मी एलाई अगाडी पार्नुभएको थियो ।
तर शङ्कर गुरुङले श्याम तामाङलाई ३–२ सेटमा हराएर स्कोर १–१ मा ल्याउनुभयो । त्यसपछि निर्णायक खेलमा सविना गुरुङलाई केशर मगरमाथि ३–२ को कठिन जित निकालेर ब्रिटिस आर्मी एलाई जित दिलाउनुभयो ।
समूह बिमा ब्रिटिस आर्मी बीले ट्रेलिङ स्पाउजलाई तीनै खेलमा हरायो । ज्याकब क्लर्कले ल्युक सयर, जिम डोइगले माइक रान्डल र दिलीप राईले डेभिड थोम्सनलाई समान ३–० ले सोझो सेटमा पराजित गर्नुभयो ।