काठमाडौं, असोज ४ गते । १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को औपचारिक उद्घाटन शनिबार चीनको हाङझाव सहरमा हुँदैछ ।
एसियाडको उद्घाटनअघि हाङझावमा आयोजना गरिएको एसियाड टर्च र्यालीमा नेपालका बक्सर दीपक महर्जनले सहभागिता जनाउनुभएको छ ।
बुधबार आयोजित टर्च र्याली हाङझावको वेस्ट लेकबाट सेप्टेम्बर ८ तारिक सुरु भई झेजियाङ प्रान्तका ११ सहरमा परिक्रमा गराईएको थियो । टर्च र्यालीको अन्तिम दिन सेप्टेम्बर २० तारिख बुधबार दीपकले टर्च बोक्नुभएको थियो ।
‘एकताको प्रतीक’ को रूपमा रहेको टर्च एसियाली खेलकुदमा सहभागी ४५ राष्ट्रका खेलाडीले बोकेका थिए । सबै देशका खेलाडीलाई कम्तीमा १०० मिटर टर्च बोक्ने मौका दिइएको थियो ।
बक्सर दीपक हाङझाव एसियाडमा सहभागी हुने नेपाली बक्सिङ टोलीका प्रशिक्षक समेत हुनुहुन्छ । उहाँ एसियाली खेलकुदका नेपालका लागि बक्सिङबाट कांस्य जिताउने खेलाडी समेत हुनुहुन्छ ।
दीपकले सन् २०१० मा चीनको ग्वाङझावमा भएको एसियाली खेलकुदमा कांस्य पदक जित्नुभएको थियो । त्यतिवेला नेपालले जितेको त्यो नै एक्लो पदक थियो ।