• १२ मंसिर २०८१, बुधबार

बालबालिकामा आत्मिक विकास

blog

विगतका वर्षमा जस्तै यस वर्ष पनि ५९ औँ बाल दिवस ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी नै हरेक वर्ष बाल दिवस मनाइँदै आए पनि राज्यले बालबालिकालाई केन्द्रमा राखेर शिक्षा नीति निर्माण गर्न सकेको छैन, उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान गएको देखिँदैन । बालबालिकाको विकास दुई प्रकारले हुन्छ– एउटा शारीरिक विकास र अर्को मानसिक वा आत्मिक विकास । शारीरिक विकासका लागि खानपानको आवश्यकता पर्छ भने आत्मिक वा मानसिक विकासका लागि कला, साहित्य, सङ्गीतको आवश्यकता पर्छ । 

आत्मिक विकासबिना बालबालिकाको पूर्ण विकास हुन सक्दैन । तसर्थ हामीले बालबालिकाको शारीरिक विकाससँगै आत्मिक विकासमा पनि ध्यान दिन आवश्यक छ । यद्यपि बालबालिकाको आत्मिक विकासका बारेमा न राज्यले सोचेको छ न त हाम्रो देशका नेता तथा बुद्धिजीवीले सोचेका छन् । बालबालिकामा फरक फरक रुचि र क्षमता हुन्छ । बालबालिकाको क्षमता पहिचान गरी उनीहरूको रुचि अनुसारको शिक्षण तथा सिकाइ व्रिmयाकलाप सञ्चालन गर्न सके उनीहरू कहिल्यै असफल हुँदैनन् । संसारमा क्षमता नभएका मानिस कोही पनि हुँदैनन्, आफ्नो क्षमता अनुसार ज्ञान हासिल गर्ने हो । फरक यति मात्र हो कि कसैले चाँडै सिक्न सक्छ, कसैले ढिलो । व्यक्तिको क्षमता पहिचान गरी सोहीबमोजिमको उपयुक्त सिकाइ वातावरण निर्माण गर्न नसक्नु चाहिँ हाम्रो कमजोरी हो ।

हामीले बालबालिकालाई जुन किसिमको शिक्षा र संस्कार दिनुपर्ने हो, त्यो दिन सकेको छैन । बालबालिकालाई सभ्य तथा असल नागरिक बनाउन सकिएन भने अर्थात् उनीहरूलाई उचित शिक्षादीक्षा दिन र असल संस्कार सिकाउन सकिएन भने बालबालिकाको मात्र होइन, मुलुककै भविष्य बर्बाद हुन्छ । हाल नेतृत्वमा देखिएको नैतिक विचलन पनि विगतको शैक्षिक कमजोरीकै कारण आएको मानिन्छ । अब यस विषयमा स्थानीय सरकारले सोच्नु पर्छ । सङ्घीय मन्त्रालयको एउटा शाखा वा महाशाखाले कार्यक्रम गर्नुभन्दा सबै स्थानीय सरकारले एउटा ढाँचाभित्र काम गर्दा अझ बढी प्रभावकारी हुन्छ । अहिले स्थानीय सरकारको ध्यान भौतिक पूर्वाधार विकासमा मात्रै गएको देखिन्छ । स्थानीय सरकारले भौतिक पूर्वाधारको मात्र होइन, बालबालिकाको आत्मिक विकासका लागि पनि सोच्नु पर्छ र त्यसमा लगानी बढाउनु पर्छ ।

हामीले भौतिक परिवर्तनलाई मात्र विकास ठान्यौँ, भावी पुस्तालाई सभ्य एवं संस्कारी बनाउने कार्यलाई विकास ठानेनौँ । बालबालिकालाई अन्य क्रियाकलापबाट वञ्चित गर्दै अनावश्यक रूपमा पढ्न मात्र दबाब दिँदै आयौँ, उनीहरूलाई चौघेरामा सीमित गरेर उनीहरूको भविष्य खोजिरहेका छौँ । हाँस्न, गाउन, खेल्न, रमाइलो गर्नबाट वञ्चित गरेर उनीहरूभित्र खुसी खोजिरहेका छौँ । बालबालिकालाई विद्यालय पठाउनु र पाठ घोकाउनु अनि परीक्षामा प्राप्त गरेको अङ्कलाई मात्र हामीले बढी महत्व दियौँ । अहिलेको मुख्य समस्या भनेकै बालबालिकाको चाहना र क्षमता अनुसार सिकाइ वातावरण निर्माण गर्न नसक्नु हो । अब पनि बालबालिकाको सर्वाङ्गीण विकासको पक्षलाई पन्छाउँदै जाने हो भने भविष्यको दुर्दिनका लागि हामी तयार रहनु पर्छ ।

यदि सुधारमा जाने हो भने वर्तमान शिक्षा प्रणालीको पुनरवलोकनका लागि राज्य तयार हुनु पर्छ । अभिभावकले पनि आफ्ना छोराछोरीलाई विद्यालय पठाएर मासिक शुल्क बुझाउँदैमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । पाठ्यपुस्तकमा दिएका विषयवस्तु मात्र कण्ठ गरेर सिकाइ उपलब्धि हासिल हुन्छ भन्ने हाम्रो भ्रमलाई तोड्न जरुरी छ । फेरि हाम्रा पाठ्यपुस्तक पनि जीवन उपयोगी छैनन् । अनुशासित, नैतिकवान् बन्न र कामप्रति प्रेरित गर्न नसक्ने, स्वावलम्बन बन्न र कडा परिश्रममा विश्वास गर्न नसिकाउने पाठ्यक्रम र पाठ्यपुस्तकले बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउन सक्दैन, व्यवहारमा परिवर्तन नआए जीवन पनि सफल हुँदैन ।

अहिले त झन् परिपक्व नहुँदै आफ्नो वजनभन्दा बढी किताबको भारी बोकाएर बालबालिकालाई विद्यालय पठाउने विकृति बढ्दो छ । विकसित मुलुक, युरोप र अमेरिकामा कक्षा ७ सम्मका बालबालिकालाई पाठ्यपुस्तकको बोझ हुँदैन, उनीहरूले पाठ्यपुस्तक बोकेर विद्यालय जानु पर्दैन । हाम्रा बालबालिका भने पुस्तकको बोझले थिचिएका छन् । राज्यको शैक्षिक नीति नै बालमैत्री छैन । यस्तो विषम परिस्थितिमा बालबालिकाको आत्मिक विकास कसरी हुन्छ, उनीहरूलाई व्यावहारिक र आत्मनिर्भर कसरी बनाउन सकिन्छ ? के यी विषयमा हामीले गम्भीरतापूर्वक सोचेका छौँ ? विद्यमान शिक्षा प्रणालीकै कारण युवा बिदेसिन बाध्य छन् । हरेक बाबुआमा आफ्ना सन्तानबाट टाढिँदै छन्; जसले हामीलाई बुढो भएपछि वृद्धाश्रमतर्फ डो¥याइरहेको छ ।

अर्कोतर्फ अहिले बालबालिकामा पढ्ने बानी पनि हराउँदै गएको छ । अझ प्रविधिको विकाससँगै इन्टरनेट र मोबाइल फोनको लत बालबालिकाका लागि घातक बन्दै गएको छ, यसको असीमित प्रयोगले बालबालिकालाई मानसिक रोगी बनाएको छ । जसका कारण उनीहरूको स्मरण शक्तिसमेत ह्रास हुँदै गएको छ । अभिभावकले पनि आफ्नो सुविधाका लागि बालबालिकालाई मोबाइल खेलाउन दिएर अझ बिगारिरहेका छन् । यसबाट जोगाउन बालबालिकालाई विभिन्न किसिमका पुस्तक पढ्न प्रेरित गरिनु पर्छ । बालबालिकालाई पढ्ने सिपको विकासका लागि पनि पुस्तक पढ्न प्रोत्साहित गर्नु पर्छ । पुस्तक पढेर, उनीहरूले विभिन्न विषयमा विश्लेषण र तर्क गर्ने क्षमता विकास गर्छन्, नयाँ नयाँ कुरा सिक्छन् । 

यसबाहेक कथा, कविता, नाटक, निबन्धका पाठ्यपुस्तक पढ्न प्रेरित गर्न सके साहित्यप्रति रुचि जगाउन सकिन्छ भने विभिन्न चित्र कोर्न लगाएर कलाको विकास गराउन सकिन्छ । जसले बालबालिकामा आत्मिक विकास भई सृजनशील बनाउँछ । त्यसै गरी उनीहरूबिच कथा, कविता, नाटक, निबन्ध लेखन, चित्रकला जस्ता प्रतियोगिता गराएमा प्रतिस्पर्धाको भावना जागृत हुन्छ । उनीहरूले पढेका किताबबाटै दिनमा एक पाना लेख्न लगाएर लेखन सिपमा सुधार गर्न सकिन्छ । सकेसम्म बालबालिकालाई कक्षा अनुसार बाहिरी पुस्तक पढ्न प्रोत्साहित गर्नु पर्छ तर विडम्बनाको कुरा देशभर घुम्दा पनि विद्यालयस्तरमा एउटै पनि गतिलो पुस्तकालय पाउन सकिँदैन ।

ज्ञानको दायरा फराकिलो बनाउन बालबालिकालाई पाठ्यक्रम थोपर्ने मात्र नभई स्वतन्त्रता पनि दिनु पर्छ । पाठ घोकाएर, परीक्षामा पास–फेल छुट्याएर मात्र बालबालिका सफल हुन्छन् भन्ने हाम्रो सोचलाई बदल्न आवश्यक छ । उसले त आफ्नो क्षमता अनुसार ज्ञान हासिल गर्ने हो, अवसर पाए कोही पनि बालबालिका असफल हुँदैनन् । प्रख्यात दार्शनिक रुसोले “मेरो विचार र मेरो उमेरको कहिले पनि भेट भएन” भनेका छन् । उनले भने जस्तै कहिलेकाहीँ १२–१३ वर्ष उमेरको बालबालिकामा पनि २२–२३ वर्षको युवाको जस्तो सोच हुन्छ । यद्यपि हामीसँग बालबालिकाको अध्ययन अनुसन्धान गर्ने परम्परा नै छैन । बालबालिकाको क्षमतालाई पहिचान गरी उनीहरूको रुचि अनुसार क्रियाकलाप गराइँदैन ।

आज हामी जति बिग्रिँदै, भत्कँदै गएका छौँ, त्यसरी नै बालबालिका पनि बिग्रिँदै गएका छन् । बेवास्ता गरेपछि, छोडेपछि जो पनि बिग्रिन्छ । उनीहरूलाई सँगेल्ने, कर्तव्यमा लगाउने, व्यावहारिक बनाउने हाम्रो दायित्व हो । अहिले कक्षा ८ मा पढ्ने विद्यार्थीले फुटबलर लियोनल मेसीबारे धेरै कुरा जानेको हुन्छ तर भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटालगायत अन्य हाम्रा राष्ट्रिय व्यक्तित्वका बारेमा केही थाहा हुँदैन । त्यसैले हाम्रो भूगोल, संस्कृति र साहित्यबारे पनि नयाँ पुस्तालाई सिकाउनु जरुरी छ । त्यसतर्फ हामीले बालबालिकालाई आकर्षक गराउन नसक्दा बालबालिकामा सृजनशीलता हराउँदै गएको छ, आत्मिक विकासमा बाधा पुगेको छ । बालबालिकाको सुन्दर भविष्य र मुलुक समृद्धिका लागि सरकारले बालबालिकालाई केन्द्रमा राखेर शिक्षा नीति निर्माण गरी सरकारी विद्यालयलाई राम्रो बनाउन गम्भीर पहल गर्नु पर्छ । बालबालिकालाई उनीहरूकै चाहना अनुसार सिक्ने र सिकाउने वातावरण निर्माण गरी बालबालिकाको आत्मिक विकासमा पनि राज्यले ध्यान पु¥याउनु पर्छ ।

Author

चिन्तामणि रिजाल