काठमाडौँ, असोज ४ गते । सरकारको चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरको चिनी र दलहनको गोदाममा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा असोज १ गते सुरु भएको सो अनुगमन टोलीले मङ्गलबार साँझ कुलेश्वरको चिनी र दलहनका बोरामा कैफियत भेटिएपछि थप अनुसन्धानका लागि गोदाममा सिलबन्दी गरेको हो । विभागको नेतृत्वमा असोज १ गतेदेखि दैनिक पाँच/छ वटा छुट्टाछुट्टै विषयगत टोलीले संयुक्त रूपमा चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ ।
विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागको नेतृत्वमा असोज १ गतेदेखि नै चाडपर्वलक्षित गरेर संयुक्त रूपमा अनुगमन सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशुपन्छी विभाग, कृषि, पशु विभाग, पर्यटन विभाग, उपत्यकाका तीन वटा जिल्ला प्रशासनका प्रविधिसँगको छलफलबाट संयुक्त बजार अनुगमन गर्ने यसअघिको निर्णय अनुरूप अनुगमन भएको छ ।
यसअघि उजुरी, गुनासोसहित दैनिक तीन/चार वटा टोलीमार्फत अनुगमन गर्दै आएको विभागले चाडपर्वमा बढी खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा, भाँडावर्तन, फलफूल, तरकारीलगायतमा अनुगमनलाई केन्द्रित गरेको जनाएको छ । यसअघि नियमित तीन/चार वटा समूहले दैनिक आठ/नौ वटा फर्मको अनुगमन गर्दै आएकोमा असोज १ गतेदेखि भने दैनिक २०/२५ वटा व्यवसायी फर्मको अनुगमन गर्दै आएको छ ।
विभागका अनुसार चाडपर्वलक्षित अनुगमन सुरु भएयता कुल ६४ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा १२ वटा व्यवसायी फर्मलाई जरिबाना गरिएको छ । यस अवधिमा २४ वटा व्यवसायी फर्मसँग कागजात माग गरिएको छ भने २९ वटा व्यवसायी फर्मलाई सुधारको निर्देशन दिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक चिलवालले बजारमा देखिने गैरव्यवसायी क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित क्रियाकलाप, बिलबीजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्रीवितरणलगायतका कार्यलाई न्यूनीकरण गर्न र स्वच्छ बजार कायम गरी उपभोक्ता अधिकार संरक्षण गर्न विभाग निरन्तर लागि परेको बताउनुभयो । उपभोक्ता काहीँकतै ठगिएको वा उपभोक्ता अधिकारबाट वञ्चित भएमा हेलो विभागको टोल फ्री नम्बर ११३७ मा फोन गरेर गुनासो उजुरी दर्ता गराउनसमेत उहाँले आमउपभोक्ता र सचेत नागरिकलाई आग्रह गर्नुभएको छ ।