• १० पुस २०८२, बिहिबार

मोटरसाइकल दुर्घटनामा नाबालकसहित दुई जनाको मृत्यु

blog

जङ्गली क्षेत्रमा भएको मोटरसाइलक दुर्घटना स्थलमा उद्धार मानवीय सेवा उपलब्ध गराउँदै बर्दीवास प्रहरी तथा स्थानीय । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 
बर्दिवास, पुस १० गते ।
बर्दिवास नगरपालिकाको उत्तरवर्ती ढुङग्रे गढन्ता–५ स्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ढुङग्रे गढन्ताबाट बर्दिवासतर्फ आउँदै गरेको प्र.२–०२–००४ प ७६७६ नम्बरको मोटरसाइकल बुधबार साँझ जङ्गली क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा बर्दिवास नगरपालिका–१० भालुझोराका ३३ वर्षीय मोटरसाइकल चालक सुरेश रसाइलीकी ३५ वर्षीया श्रीमती रश्मि विक र सोही मोटरसाइकलमा सवार उहाँका ५ वर्षीय भतिजा रोमन रसाइलीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकास बमका अनुसार दुर्घटनामा रश्मि विकको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएका बालक रोमन रसाइलीलाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा दाहिने खुट्टा भाँचिएका मोटरसाइकल चालक सुरेश रसाइलीको शुभ स्वस्तिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको डिएसपी बलमे जनाउनुभयो ।