• १० पुस २०८२, बिहिबार

आठ क्विन्टलभन्दा बढी गाँजासहित चालक पक्राउ

blog

बरामद गाँजा । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, पुस १० गते ।
सप्तरी जिल्लामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा आठ क्विन्टलभन्दा बढी गाँजासहित एक जना चालकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टी टोलमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९६६५ नम्बरको पिकअप गाडी रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा पिकअप गाडीमा लागुऔषध गाँजा ३२ पोका फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजाको तौल गर्दा प्लाष्टिकसहित आठ क्विन्टल ५१ किलो दुई सय ग्राम र प्लाष्टिक बाहेक आठ क्विन्टल ३२ किलो गाँजा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

सो गाडीका चालक राजविराज नगरपालिका–११ निवासी २९ वर्षका रामकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा सप्तरी जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।