• १६ वैशाख २०८१, आइतबार

सदस्य सचिव घिसिङ चीन प्रस्थान

blog

राखेप सदस्य सचिव टंकलाल घिसिङ प्रकाशकुमार कुसारीलाई निमित्त सदस्य सचिवको पत्र हस्तान्तरण गर्नुहुँदै ।

काठमाडौं, असोज ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबार चीन प्रस्थान गर्नुभएको छ । 

चीनको हाङझाव सहरमा असोज ६ देखि २१ गतेसम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली टोलीको ‘सेभ दि मिसन’ को रुपमा सहभागीता जनाउन सदस्य सचिव घिसिङ चीन प्रस्थान गर्नुभएको  हो । 

सदस्य सचिव घिसिङलाई यसअघि नै नेपाली टोलीको नेतृत्वको रुपमा एसियाड ‘सेभ दि मिसन’ को जिम्मेवारी दिईएको थियो । सदस्य सचिव घिसिङलाई राखेपका निमित्त सदस्य सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । 

यस्तै हाङझाव एसियाडमा सहभागी हुन बुधबार नै नेपालको टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली चीन प्रस्थान गरेको छ । हाङझाव एसियाडको औपचारिक सुरुवात असोज ६ गते हुँदैछ । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ ।