• १६ वैशाख २०८१, आइतबार

राष्ट्रब्यापी पावरलिफ्टिङ्ग अर्को साता

blog

पावरलिफ्टिङ्ग प्रतियोगीताबारे जानकारी दिँदै सुकदेव कार्की ।

काठमाडौं, असोज ३ गते । नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा असोज ८ र ९ गते राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने प्रतियोगितामा एक सय २० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका अध्यक्ष सुकदेव कार्कीले जानकारी दिनुभयो । 

पिन्टोला नेपालको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्स गरी चार स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा प्रत्येक स्पर्धामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई क्रमश: १५ हजार, १० हजार र पाँच हजार रुपियाँ, मेडल ट्रोफी तथा आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै प्रतियोगितामा पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई नेपालको ‘स्ट्रोङ्गेस्ट एथलेट’ उपाधिसहित जनही २५ हजार रुपियाँ प्रदान गरिने पनि अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न १७ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ । नेपालमा पावरलिफ्टिङ्ग खेलको उत्थान र विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीको भनाई छ ।