• ११ मंसिर २०८१, मङ्गलबार

बिपी साहित्य सम्मलेन महोत्सव,२०८० को तेस्रो कार्यक्रम

बिपीले व्यावहारिक शिक्षामा जोड दिएका थिए : डा. केदारभक्त माथेमा

blog

नेपाली कांग्रेसको मुख्यालय बि.पी.स्मृति भवनमा आयोजित कार्यक्रम ।

काठमाडौं, असोज ३ गते । नेपाली कांग्रेसको ११०औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेस्रो दिनको कार्यक्रम बुधबार सुरु भएको छ ।

नेपाली कांग्रेसको मुख्यालय बि.पी.स्मृति भवनमा आयोजित कार्यक्रमको प्रारम्भमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा करिब एक घण्टा लामो सम्भाषण प्रस्तुत गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनीय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गर्नुभयो ।

‘‘बिपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित थियो । शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रूपमा लिने गर्छ । तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रूपमा लिन्छ । बिपी त्यही राजनेता हुनुहुन्थ्यो ।’’, डा. माथेमाले भन्नुभयो ।

उहाँले शिक्षा समान कहिल्यै हुँदैन, यसमा राजनीति हुन्छ तर राजनीतिकको हस्तक्षेपबाट र शिक्षाको व्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नुपर्ने बताउनुभयो । नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्नुहुँदै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाका लागि अभिभावकहरूले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो । बिपीले सृजनशीलता र नवीन शिक्षाको एवम् सबैका लागि शिक्षा , हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नु भएको थियो ।’’

हाल नेपालका विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप चरम रूपमा छ । उपकुलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र भताभुङ्ग भएको जनाउनुहुँदै डा. माथेमाले परीक्षा दिएर उर्तीण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औँल्याउनुभयो ।

‘‘बिपीले दलित, मधेशी, मुस्लिम र आदिवासी समुदायमाथि असाध्यै समान व्यवहार गर्नुहुन्थ्यो । सबै वर्गको पहुँच थियो । तर अहिले नेपालको उच्च शिक्षामा ८० प्रतिशत बढी क्षेत्रमा बाहुन र नेवार समुदायको बाहुल्यता छ,’’ उहाँले भन्नुभयो ।

आफू त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएको र त्यसबेला नियुक्ति पाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष आफूले कुनै भनसुन वा निवेदन नदिएको भन्नुहुँदै राजनीतिक हस्तक्षेप कुनै पनि तवरले बेहोर्नु नपरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

बिपी आफैँ यति अध्ययनशील हुनुहुन्थ्यो कि उहाँ आफैँ पार्टीका नेताहरूलाई अध्ययन धेरै गर्न सुझाव दिने गरेको त्रिविविका पूर्वउपकूलपति डा. माथेमाले बताउनुभयो ।