बुलबुले समाचारदाता
सुर्खेत, पुस १० गते । जाजरकोटका कल्पना नेपालीलाई छालामा देखिएको रोगले लामो समयदेखि पीडा भइरहेको थियो । उपचारका लागि परिवारले उहाँलाई एक दिन पैदल हिँडेर जिल्ला अस्पताल पुर्याए । अस्पतालका चिकित्सकले कल्पनाको अवस्थाबारे सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गरे । विशेषज्ञको सल्लाह अनुसार एक हप्तासम्म निगरानीमा राखी औषधोपचार गरेपछि कल्पनाले अहिले पूर्ण स्वास्थ्यलाभ प्राप्त गर्नुभएको छ ।
यस्तै कालीकोटका धर्मराज शाहीलाई पनि छालामा देखिएको रोगले लामो समयदेखि हैरान बनाएको थियो । उपचारका लागि परिवारले उहाँलाई जिल्लाबाहिर लैजाने तयारी गरिरहेको थियो । त्यसभन्दा पहिला उहाँ जिल्ला अस्पताल पुग्नुभयो । अस्पतालका चिकित्सकले धर्मराजको अवस्था सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गर्नुभयो । विशेषज्ञको सल्लाह अनुसार उहाँ १५ दिनमै औषधोपचार गरेपछि निको हुनुभयो ।
प्रदेश अस्पताल सुर्खेतले थालेको यो सेवा प्रभावकारी बन्दै गइरहेको छ । दुर्गममा विशेषज्ञ सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा सुरु गरिएको छ । कर्णालीका पाँच जिल्लामा दूर चिकित्सा सेवा सुरु गरिएको हो । भौगोलिक रूपमा विकट रहेको कर्णालीमा यो सेवा प्रभावकारी बन्दै गइरहेको छ । दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्ने काम भइरहेको प्रदेश अस्पतालले जनाएको छ ।
मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा प्रभावकारी हुँदै गइरहेको प्रदेश अस्पतालका दूर चिकित्सा फोकल पर्सन नरेन्द्र चन्दले बताउनुभयो । उहाँले कर्णालीका पाँच वटा जिल्ला अस्पताललाई यो सेवामा जोडिएको जानकारी दिनुभयो । सरकारी अस्पतालबिच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न दूर चिकित्सा सेवा सञ्चालन गरिएको हो । प्रदेश अस्पताल सुर्खेतले २०७७ वैशाख ७ बाट दूर चिकित्सा सेवा सुरु गर्यो । गत आर्थिक वर्षबाट कर्णालीका पाँच वटा जिल्ला अस्पतालमा पनि यो सेवा विस्तार गरिएको छ । दूर चिकित्सा विस्तार भएसँगै प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । अहिलेसम्म कर्णालीका एक हजार आठ सय जनाले यो सेवा लिएको फोकल पर्सन चन्दले जानकारी गराउनुभयो । कर्णालीका दुर्गम भूभाग, अदक्ष जनशक्ति र औषधीको अभावले विगतमा लाखौँ खर्च गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ हुँदै भारतका लखनउ जस्ता सहर पुगेर उपचार गर्न बाध्य भएका नागरिक अहिले भने आफ्नै जिल्लामा राहत अनुभव गरिरहेका छन् ।