• १० पुस २०८२, बिहिबार

गाउँसभाबाट ५७ लाखभन्दा बढीको स्रोत सुनिश्चितता

blog

छत्रकोट गाउँपालिकाको गाउँसभाको २१ औं अधिवेशनको प्रथम बैठक। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस १० गते।
गुल्मीको छत्रकोट गाउँपालिकाको गाउँसभाको २१ औं अधिवेशन सुरु भएको छ । यस गाउँपालिकाको गाँउसभाको २१ औं अधिवेशनको प्रथम बैठकबाट ५७ लाखभन्दा बढीको स्रोत सुनिश्चितता गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

गाउँसभाको बैठकमा उपाध्यक्ष सावित्रा ज्ञवालीले अत्यावश्यक कार्यक्रम तथा आयोजना सम्पन्न गर्नका लागि पेश गर्नुभएको ५७ लाख ७५ हजार रुपियाँ बराबरको बजेटको स्रोत सुनिश्चितता प्रदान गरिएको छ । संशोधित कार्यक्रमहरु विपद् सामग्री व्यवस्थापन, निःशुल्क औषधी वितरण, स्वास्थ्य चौकी तथा विद्यालय व्यवस्थापनलगायतका रहेका छन् । त्यसैगरी यूडब्लुएस नेपाल कार्यक्रमसँग साझेदारी, रुरुक्षेत्र गाउँपालिकासँगको साझेदारीमा रिडीमा शवदाह निर्माण, मर्चुअरी फ्रिज लगायतका संशोधित कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्मको करिब पाँच करोड रुपियाँ बेरुजु सम्परीक्षणका लागि लेखा समिति संयोजक शेर बहादुर राकसकोटीले सभामा पेश गर्नुभयो । आर्थिक विकास समिति संयोजक तेजकान्त अर्यालले पेश गर्नभएको गत आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय अनुमोदन भएको छ । न्यायिक समितिका सदस्य नारायण रेश्मीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । गाउँसभाको २१ औं अधिवेशनको पहिलो बैठक स्थगित गर्नुहुँदै सभाध्यक्ष रामप्रसाद पाण्डेयले पुस २५ गते दोस्रो बैठक आह्वान गर्नुभयो ।

यता, मालिका गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशन सुरु भएको छ । गाँउसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष उपेन्द्र अर्यालले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत विनियोजन विधेयक २०८२ अन्तर्गतका आयोजना÷कार्यक्रमको रकमान्तर, श्रोतान्तर तथा खर्च कटौतिसम्बन्धी प्रस्ताव पेस गरिएको हो । गाउँपालिका अध्यक्ष देवीराम अर्यालको अध्यक्षतामा भएको गाउँसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा गाउँसभा सदस्य समिपा सुनारले समसामयिक विषय तथा अन्य सार्वजनिक महत्वका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।