• १३ मंसिर २०८१, बिहिबार

कञ्चनपुरमा स्वास्थ्यकर्मी हातपात

blog

सीसी क्यामेरामा देखिएको दृश्य ।

काठमाडौं, असोज ३ गते। कञ्चनपुरको बैलोरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिकता स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। नेपाल चिकित्सक सङ्घ र सरकारबिचको वार्तामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएको तीन दिन नबित्दै फेरि स्वास्थ्यकर्मीमाथि हातपात भएको हो। 

केन्द्रमा कार्यरत अहेब नरेन्द्र गैरेमाथि मंगलबार राति १२ बजे हातपात भएको केन्द्रले जनाएको छ।असोज २ गते मादक पदार्थ सेवन गरेर साइकलबाट लडी सामान्य चोट लागेको र निधारमा घाउ भएका बिरामीलाई टाका लगाउने धागो किन्न पठाउने निहुँमा हातपात भएको केन्द्रले जनाएको छ।  

विज्ञप्तिमा उल्लेख छ, “दुई दिनदेखि सार्वजनिक बिदा परेकोले टाका लगाउँदा आवश्यक पर्ने धागो सकिएकाले उपचारमा खटिएका स्वास्थ्यकर्मीले आफ्नै पैसामा धागो किन्न पठाएको निहुँमा, रामु भनिने रामबहादुर खड्काले  किन धागो नभएको, धागो छैन भने राजीनामा दे, किन काम  गरिराख्छस् भन्दै अभद्र व्यवहार र हातपात गरेका छन्।” 

केन्द्रले दोषीलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।  साथै दोषीलाई कारबाही नभए असोज ४ गतेदेखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने केन्द्रले चेतावनी दिएको छ।