रमेश विश्वकर्मा
गुल्मी, असोज २ गते । नेपाली कांग्रेस गुल्मीले सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६औं स्मृति दिवस मनाएको छ । स्मृति दिवसको अवसरमा पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा समावेशी नेपालको परिकल्पना विषयक गोष्ठीको आयोजना गरेको हो ।
त्यस अवसरमा कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले कांग्रेस अहिले मरेकाले बचाएको पार्टी र बाँचेकाले घटाएको पार्टी जस्तो बनेको बताउनुभयो । गणेशमानसँग जोडिएका विभिन्न घटनाक्रमलाई स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “नीति ठूलो हो, व्यक्ति ठूलो होइन विधि ठूलो हो । पद्धति बनाउने होइन बसाल्नुपर्छ भन्ने गणेशमानको बाटो थियो । कांग्रेसले गणेशमानको बाटो बिर्सिएको जस्तो देखिन्छ ।”
कांग्रेसमा अहिले वैचारिक धार कमजोर बनेको भन्दै कांग्रेसको मुख्य हतियार भनेकै विचाग रहन्छ ।,” नेता श्रेष्ठले भन्नुभयो, “आर्दश बिर्सिएका कारण हामी कमजोर भएका छौं ।”
अप्राकृतिक गठबन्धन गर्न नहुने बताउनुहुँदै उहाँले पार्टीभित्र अवसरवादी, ठेकदार र माफियाहरू हाबी भएको तर्क व्यक्त गर्नुभयो । विचारबाट विचलित भइरहेको बेला यस्ता महत्त्वपूर्ण विचार गोष्ठीले सही बाटोमा ल्याउने उल्लेख उहाँले गर्नुभयो ।
यसैगरी, कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गणेशमान र बिपीको विचार पार्टीमा हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । पार्टीमा पनि अराजकता र अवसरवाद चुनौतीको रूपमा रहेको बताउँदै सिङ्गो समाज नकारात्मकताले भरिदै गएको टिप्पणी गर्नुभयो । बलिदानी र सङ्घर्षले भरिएको पार्टीमा इमानदारीको खडेरी परिरहेको भन्दै उहाँले संस्कारविहीन राजनीति अगाडि बढेको र अराजकता मौलाएको बताउनुभयो ।
“पार्टीभित्र डिमाण्ड र बार्गेनिङमा मात्र उद्यत छ ।,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा पार्टीलाई बचाउन त्यागी नेताहरूको आदर्श बाटो पछ्याउन जरुरी छ ।” उहाँले सर्वोच्च तथा त्यागी नेता गणेशमानको स्मृतिमा गरिएको विचार गोष्ठीले त्याग र स्वाभिमानको राजनीतिमा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभयो ।
कांग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेलले गणेशमान सिंह त्याग, समर्पण, नैतिकता र इमान्दारका प्रतिमूर्ति रहनुभएको बताउनुभयो । विचारमा दृढ गणेशमान एकताको प्रतीक भएको उल्लेख गर्नुहुँदै सङ्गठन विस्तारविपरीत व्यक्तिवादी प्रवृत्ति तिर जाने समस्या छ । पार्टीभन्दा म नै प्रमुख हुँ भन्ने लाभका लागि मात्रै केन्द्रित हुने प्रवृत्तिलाई चिर्न जरुरी रहेको बताउनुभयो । सीमान्तकृतको विषय कतै पार्टीमा ओझेल परेको भन्दै राज्यको मूलधारमा आउन नसकेका सीमान्तकृत वर्गलाई राज्यको मूलधारमा ल्याउन जरुरी रहेको बताउनुभयो ।
गोष्ठीमा कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेन, कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा, कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभाग सदस्य गुणनिधि शर्मा, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख दीन पन्थी, कांग्रेस गुल्मीका सचिव भगतसिहं खड्कालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।