• १२ मंसिर २०८१, बुधबार

आत्महत्या डरलाग्दो समस्या

blog

आत्महत्या रोकथाम विश्वका लागि चुनौती भएको छ। विश्वका विकसित देशलगायत विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय संस्थाको प्रयास हुँदाहुँदै पनि आत्महत्या बढ्दो दरमा छ। कुनै व्यक्तिले आफ्नो जीवन आफैँले समाप्त गर्ने वा आफ्नो हत्या आफैँले गर्ने कार्य आत्महत्या हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्या भन्नाले मनसायपूर्वक वा स्वेच्छिक रूपमा आफ्नो जीवनलाई समाप्त पार्ने कार्यलाई इङ्गित गर्छ। 

विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो एक दशकमा विश्वका १७२ देशको आत्महत्याको तथ्याङ्क विश्लेषण गरी तयार गरेको अध्ययन प्रतिवेदन अनुसार विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन्। यो तथ्याङ्कले विश्वमा हरेक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन्। प्राकृतिक प्रकोप र द्वन्द्वका कारणले भन्दा आत्महत्याले ज्यान गुमाउनेको सङ्ख्या बढी छ। विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिसमध्ये आधा जसोले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सबैभन्दा कम आत्महत्या हुने देश उत्तर अमेरिकाको बारवाडोस हो। त्यहाँको आत्महत्या दर प्रति एक लाखमा ०.४ रहेको छ। विश्वमा सबैभन्दा धेरै आत्महत्या दर रहेको देश दक्षिण अमेरिकाको गुयाना हो। त्यहाँको आत्महत्या दर प्रति एक लाखमा ४४.२ रहेको छ। दोस्रो स्थानमा पर्ने उत्तर कोरियाको आत्महत्या दर प्रति एक लाखमा ३८.५ र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको आत्महत्या दर प्रति एक लाखमा २८.९ रहेको छ। 

त्यसै गरी चौथो स्थानमा रहेको श्रीलङ्काको आत्महत्या दर प्रति एक लाखमा २८.८ तथा पाँचौँ स्थानमा रहेको लिथुआनियाको आत्महत्या दर २८.२ रहेको छ। छैटौँ र सातौँ स्थानमा रहेको सुरिनेम र मोजाम्बिकको आत्महत्या दर क्रमशः २७.८ र २७.७ रहेको छ। विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा नेपाल बढी आत्महत्या हुने देशको आठौँ स्थानमा छ। नेपालको आत्महत्या दर प्रति एक लाखमा २४.९ उल्लेख छ। 

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार दक्षिण तथा पूर्वी एसिया क्षेत्र विश्वमा सबैभन्दा बढी आत्महत्या हुने क्षेत्र हो। विश्वमा हुने आत्महत्यामध्ये ३९ प्रतिशत आत्महत्या यही क्षेत्रका निम्न तथा मध्यम आय भएका मुलुकमा हुने गर्छ। यस क्षेत्रका कृषिमा आधारित मानिसले मुख्य रूपमा विषादीको सेवन गरी आत्महत्या गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। उसको प्रतिवेदन अनुसार सङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै मानिसले आत्महत्या गर्छन्। त्यहाँ सन् २०१२ को एक वर्षमा दुई लाख ५८ हजार ७५ जनाले आत्महत्या गरेको उल्लेख छ। यसरी आत्महत्या गर्नेहरू प्रायः आर्थिक तथा सामाजिक रूपमा सीमान्तकृत समुदायका थिए।

नेपाली समाजमा पनि आत्महत्या विकराल समस्याका रूपमा देखा परेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल प्रहरीको तथ्याङ्कले पनि पुष्टि गरेको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ७५४ जना, आर्थिक वर्ष २०७६/७७ मा छ हजार २४१ जना र आर्थिक वर्ष २०७७/७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेको तथ्याङ्क छ। त्यसै गरी आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जना रहेका छन्। यो तथ्याङ्क अनुसार नेपालमा प्रतिदिन १९ जनाले आत्महत्या गर्ने गर्छन्।

यस प्रकारको आत्महत्याको बढ्दो दरलाई रोकथाम तथा न्यूनीकरणका लागि यसको आर्थिक, सामाजिक, मनोवैज्ञानिक कारण पहिचान गर्न जरुरी हुन्छ। आत्महत्या व्यक्तिको कमजोरीका कारण नभएर अनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणले हुने गर्छ। अनुसन्धानले ९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारणले हुने जनाइएको छ।

आत्महत्याको कारणको सन्दर्भमा खास गरी युरोपियन अध्येताले अठारौँ शताब्दीबाट यसको अध्ययन अनुसन्धान थालेका थिए। उनीहरूले परम्परागत समाजमा भन्दा पनि आधुनिक समाजमा आत्महत्याको दर बढेको निष्कर्ष निकाल्दै यसलाई व्यक्तिको मनोवैज्ञानिक कारण हो भनी जोड दिएका थिए। त्यस बेला आत्महत्या नितान्त व्यक्तिगत मनोवैज्ञानिक तथा उसको पागलपन, लहड र बहुलट्ठीका कारण घटेको घटना हो भनी व्याख्या गरे।

समाजशास्त्री इमाइल दुर्खिम (१८५८–१९१७) ले आत्महत्यालाई व्यक्तिको पागलपन, नक्कल, अनुवांशिक र सांसारिक मात्र नभई सामाजिक घटनाका रूपमा बुझ्नुपर्ने र त्यसको सामाजिक व्याख्या हुनुपर्ने तर्क गरेका थिए। दुर्खिमका अनुसार कुनै समाजको सामाजिक सद्भाव तथा सामञ्जस्यता र आत्महत्या परस्पर अन्तरसम्बन्धित हुन्छ भनेका छन्। सामाजिक सद्भाव राम्रो भएको समाजमा आत्महत्याको दर कम र सामाजिक सद्भाव कमजोर भएको समाजमा आत्महत्या दर बढी रहेको निष्कर्ष निकाल्दै उनले आत्महत्याको सामाजिक व्याख्या गरे। उनले महामारी, युद्ध, लडाइँ, विभेद, भोकमरी जस्ता पक्षले उत्पन्न गरेको सामाजिक असन्तुलन भएको समाजमा आत्महत्या बढी हुने बताए। दर्खिमले आत्महत्यालाई व्यक्तिको मानसिक स्वास्थ्य समस्याका कारणभन्दा सामाजिक कारणलाई जोड दिए । 

हाम्रो नेपाली समाजमा हुने आत्महत्याका घटनालाई समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्त अनुसार व्याख्या र विश्लेषण गर्न सकिन्छ। अपवादबाहेक नेपाली समाजमा आत्महत्या गर्नेहरू आर्थिक रूपमा अति विपन्न, सामाजिक सांस्कृतिक रूपमा अति सीमान्तीकृत तथा समाजको निम्न वर्गीय नै छन्। अध्ययनहरूले विशेष गरी अति गरिबी र दलित समुदायमा आत्महत्या र हिंसाको दर बढिरहेको देखाएको छ। 

हामीले यस प्रकारको आत्महत्याको घटनालाई रोकथाम गर्न सकेनाँै भने नेपालले दिगो विकास लक्ष्य र विश्व स्वास्थ्य सङ्गठनको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्न सम्भव छैन। विशेष गरी स्थानीय सरकार र सरोकारवाला यस कार्यका लागि बढी जिम्मेवार छन्। बढीजसो आत्महत्या गरिबी, भोकमरी र विभेदपूर्ण समाजमा हुने भएकाले त्यस्ता समुदायको पहिचान गरी स्थानीय सरकारले उत्पादनशील र सकारात्मक सामाजिक तथा सांस्कृतिक अभ्यासको थालनी गर्न जरुरी छ। स्थानीय सरकार र विभिन्न सरोकारवालाले त्यस्ता सीमान्तकृत समुदायलाई पेसा अथवा व्यवसायमार्फत समाजमा घुलमिल हुने र फुर्सदको समयको सदुपयोग गर्न पाउने वातारण सिर्जना गर्नु पर्छ। 

तथ्याङ्क अनुसार मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या गर्ने सङ्ख्या धेरै छन्। समाजमा उत्पन्न त्यस्ता मानसिक स्वास्थ्य समस्याको कारण पहिचान गरी त्यसको रोकथामका लागि मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवामा पहुँच पु¥याउने दायित्व स्थानीय सरोकारवालाको हो। यस प्रकारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रवाहका लागि सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्थानीय सरकारले आवश्यक स्रोतसाधन तथा जनशक्तिको व्यवस्थापन गर्नु पर्छ। 

वैदेशिक रोजगारीमा रहेका व्यक्ति र तिनका परिवार तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिमा उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई आत्महत्यासम्म पुग्न नदिन समयमा नै मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्थानीय सरकारसँग स्पष्ट कार्ययोजना हुनु पर्छ। साथै मानसिक स्वास्थ्य प्रवर्धन गर्न तथा मानसिक रोगका बारेमा विद्यमान अन्धविश्वास र भ्रमलाई हटाउन स्थानीय सङ्घ संस्था, समुदाय–प्रहरी साझेदारीलगायतका निकायको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। 

लेखक रोसी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ।  

Author

दिनेश लामा