शारदा समाचारदाता
शारदा (सल्यान), जेठ ३१ गते । निर्माण गरेको एक महिनामै सडकको पर्खाल भत्किएको छ । भत्किएको पर्खाल ठेकेदारले निर्माण नगर्दा लान्ती–लेखपोखरा–दमाचौर–रोल्पा सडक जोखिमपूर्ण भएको छ । स्थानीय विकास पूर्वाधार आयोजना कार्यालय सुर्खेतबाट गत वर्ष यस सडकखण्डमा पर्खाल निर्माणको काम भएको थियो । गुणस्तरहीन काम र असारे विकासका कारण हतारमै लापर्बाही तरिकाले निर्माण गर्दा केही समयमै सो पर्खाल भत्किएको थियो ।
सडक निर्माण सम्पन्न भएको केही सातामै आएको वर्षाले छत्रेश्वरी गाउँपालिका–५ स्थित मरटखोलानजिक बनाइएको पर्खाल भत्काएको थियो । जसका कारण सडकको आधा भागसमेत भासिन थालेकाले सडकमा आवातजावत गर्न जोखिमपूर्ण भएको छत्रेश्वरी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौदबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय विकास पूर्वाधार आयोजना कार्यालय सुर्खेतलाई त्यतिबेलै पत्रमार्फत जानकारी गराएका थियौँ । कार्यालयले पनि ठेकेदारलाई पर्खाल मर्मतसम्भारका लागि चिठी काटेको देखिन्छ तर ठेकेदारले हालसम्म पर्खाल निर्माण गरेको छैन ।” छत्रेश्वरी गाउँपालिका–१, २ र ५ सँंगै रोल्पाका मानिस आउजाउ गर्ने मुख्य सडकको पर्खाल भत्किएपछि गाउँपालिकाले सामान्य मर्मत गरेर सवारीसाधन चल्नेसम्मको बनाएको थियो तर ठेकेदारले भने यो कामको बेवास्ता गरिरहेको छ ।