टीकापुर समाचारदाता
टीकापुर, जेठ ३१ गते । टीकापुर नगरपालिका नगर कार्यपालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको भनी गुनासो भइरहेको छ । नगरपालिकाले बजेटलाई अबन्डा राखेर खर्च गर्ने, उपभोग खर्च बढाउने र सोझै खरिद कार्यमा व्यापक खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमार्फत यस्ता तथ्य सार्वजनिक भएका हुन् ।
टीकापुर नगरपालिका नगर कार्यपालिकाले १० करोड ६२ लाख ६८ हजार रुपियाँ कार्यपालिका बैठकको निर्णयबाट खर्च गरेको छ । “कुल बजेटको १५ प्रतिशत बजेट अबन्डा राखी बैठकबाट निर्णय गरेर खर्च भएको छ,” प्रतिवेदनले भनेको छ, “यो नगरपालिकामा बजेट अनुशासन र पद्धति भएन ।” बजेट निर्माण प्रक्रियामा नै नगएको र टीकापुर नगरपालिकाले बजेट सीमा निर्धारण समिति पनि गठन गरेको छैन ।
यता बजेट कार्यक्रम तर्जुमा गरेको छैन, उता सभामा विस्तृत विवरण प्रस्तुत नै नगरिकन नगर कार्यपालिकाले सभा छलेर १५ प्रतिशत बजेट बाँडेको छ ।
टीकापुर नगरपालिकाले खाना, खाजा र सभा सञ्चालनमा ५६ लाख १७ हजार रुपियाँ खर्चेको छ । कार्यालय सामग्री र मसलन्द खरिदमा ६६ लाख ४१ हजार खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । कागजातै पेस नगरेको टीकापुर सामुदायिक अध्ययन केन्द्रलाई पाँच लाख भुक्तानी दिएको छ भने सेतो कागजमा भर्पाई गरेका आधारमा २८ लाख ३५ हजार सात सय रुपियाँ भुक्तानी दिएको पाइएको छ । यसलाई महालेखाले अनौपचारिक कारोबार भनेको छ ।
यस्तै टीकापुर महोत्सवलगायतका १२ वटाका संस्थालाई १८ लाख ५१ हजार रुपियाँ प्रदान गरेकोमा यसलाई वितरणमुखी बजेट भन्दै रोक्न सुझाव दिएको छ । नगरपालिकाले एक आवमा एक करोड ४२ लाख २९ हजार रुपियाँका ठेक्कापट्टा सोझै खरिद गरेको छ ।
प्रतिस्पर्धा गरेको ठेक्कामा ३६ प्रतिशतदेखि ४३ प्रतिशतसम्म घटेर ठेक्का लागेका छन् । महालेखाले नगरपालिकाको सटर भाडा नउठ्नु, पार्क प्रवेश शुल्कको एक लाख ५३ हजार पाँच सय रुपियाँको हिसाब नदेखिनु र नगरप्रमुखले तीन दिनभन्दा लामो भ्रमण कार्यपालिकाबाट आफैँले स्वीकृत गर्ने गरेको कामलाई आन्तरिक नियन्त्रण प्रणाली नभएको भनिएको छ ।
२०५३ सालमा स्थापना भएको टीकापुर नगरपालिकामा आन्तरिक लेखा परीक्षण शाखा नै खुलेको छैन । नगरपालिकाको कुल बजेटको ६५.७९ प्रतिशत बजेट चालु खर्च भएको र २४.४२ प्रतिशत बजेट मात्र पुँजीगतमा खर्च भएको छ ।
उपभोग र प्रशासनिक खर्च बढाएर पुँजीगत खर्च खुम्चिनु नगरपालिकाको कुशल व्यवस्थापन नभएको, आमजनताका आकाङ्क्षा पूरा नहुने देखिएको सामाजिक अगुवा जगदीश्वर पण्डित बताउनुहुन्छ ।
आन्तरिक आय लक्ष्यभन्दा १३.१६ प्रतिशत घटी छ करोड ४६ लाख ७७ हजार रुपियाँ प्राप्त गरेको टीकापुर नगरपालिकाले यसको ठुलो अंश उपभोगमा खर्च गरेको छ ।