• १० मंसिर २०८१, सोमबार

विज्ञान–प्रविधिको महत्त्व उच्च

blog

काठमाडौँ, असोज २ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अत्याधुनिक प्रविधिसहितको सामाजिक–आर्थिक विकास, जलवायु परिवर्तन तथा महामारीजन्य अन्य जोखिमसँग लड्न विज्ञान तथा प्रविधिको महत्व उच्च रहेको बताउनुभएको छ ।

क्युबाको राजधानी हवानामा आयोजित जी–७७ र चीन समूहमा विकासशील मुलुकसम्बन्धी शिखर सम्मेलनमा ‘वर्तमान विकासका चुनौतीहरू : विज्ञानको भूमिका, प्रविधि र नवीनता’ विषयक सत्रमा आइतबार सम्बोधन गर्दै उहाँले विकसित र विकासोन्मुख राष्ट्र, विशेष गरी अल्पविकसित राष्ट्रबिचको प्राविधिक र डिजिटल विभाजनप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “१० औँ वर्ष बितिसक्दा पनि ठोस प्रतिबद्धताका बाबजुद पनि कार्यान्वयन हुन सकेको छैन। त्यसका लागि विकसित राष्ट्रबाट प्रविधि हस्तान्तरणका लागि जोड दिइनु पर्छ ।” 

दिगो प्रविधिलाई सार्वजनिक नीतिमार्फत प्रवर्धन गर्ने, शिक्षा प्रणालीमा समाहित गर्ने र प्राविधिक उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो।

उहाँले अतिकम विकसित मुलुकका लागि दोहा कार्ययोजना कार्यान्वयन गर्न दक्षिण विश्वलाई सहयोगका लागि आह्वान गर्नुभयो। मन्त्री भुसालले विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै नेपालको विकास नीति र प्राथमिकताका बारेमा प्रकाश पार्नुभयो। सो सम्मेलनले वर्तमान विकासका चुनौतीहरू : विज्ञान, प्रविधि र नवप्रवर्तनको भूमिकासम्बन्धी हवाना घोषणा जारी गरेको छ।