• १५ मंसिर २०८१, शनिबार

राजस्व चुहावट अध्ययन गर्न कार्यदल

blog

काठमाडौँ, असोज १ गते । सरकारले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण र निराकरणका उपायसहितको कार्ययोजना पेस गर्न कार्यदल गठन गरेको छ । 

शनिबार सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले एक साताभित्र प्रतिवेदन पेस गर्ने गरी अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।  

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा सम्पन्न बैठकले पैठारीको परिमाणमा अस्वाभाविक कमी आएका वस्तुहरूको बजार उपलब्धता अध्ययन गर्ने र त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने पनि निर्णय गरेको मन्त्रालयले जनाएको छ । दसैँ, तिहार, छठ पर्वलाई ख्याल गर्दै  चोरी पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबिच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील नाकाहरूमा आकस्मिक गस्ती बढाउने पनि निर्णय गरेकोे छ । 

बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य आधार बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबिच उच्चस्तरको समन्वय काम गर्न निर्देशन दिनुभएको थियो । बैठकमा अर्थमन्त्री डा. महतले राजस्व चुहावट नियन्त्रणमा संलग्न निकायले आआफ्ना कमजोरीहरू समीक्षा गरी सुधारको मार्ग पहिल्याउन निर्देशन दिनुभयो । कार्यव्रmममा सुरक्षा निकायका प्रमुखहरू र राजस्व चुहावट नियन्त्रणमा संलग्न विभागीय प्रमुखहरूले आआफ्नो निकायले राजस्व चुहावट नियन्त्रणमा गरिरहेका कार्यबारे जानकारी 

गराएका थिए ।