• १५ मंसिर २०८१, शनिबार

अर्थतन्त्रमा क्रमिक सुधार: अर्थमन्त्री

blog

काठमाडौँ, असोज १ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक  सुधार आइरहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्व सङ्कलनमा अझै सुधार आइनसकेको भए पनि विप्रेषण आप्रवाह, पर्यटक आगमनमा वृद्धि आएको र आर्थिक गतिविधि पनि बढ्दै जान थालेको बताउनुभएको हो ।

बजारमा पुँजी प्रवाह बढाउँदै लगेर आर्थिक गतिविधि विस्तारमा ध्यान दिन वित्तीय संस्थाहरूलाई उहाँले आग्रह गर्नुभयो । वाणिज्य बैङ्कहरू, सञ्चय कोष जस्ता निकायले पुँजी परिचालन गर्ने र रोजगारी विस्तारलगायतका गतिविधि बढावा दिन आवश्यक रहेको उहाँको भनाइ थियो । “बैङ्क वित्तीय संस्थाहरूले ब्याजदर अझै कम गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “नियामकहरूले पनि अर्थतन्त्रको वास्तविक अवस्था हेरेर नीति बनाउनु पर्छ, मौद्रिक नीति वित्त निजी जस्ता विषयमा सामञ्जस्य जरुरी छ ।” राजस्व सङ्कलनमा आएको दबाबका कारण सरकारले निजामती तथा सार्वजनिक निकायका कर्मचारीको सेवा सुविधामा कटौती गर्न बाध्य भएको र त्यसलाई सरकारको बाध्यताका रूपमा बुझिदिन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले कर्मचारी सञ्चय कोषमा निजी क्षेत्रलाई पनि आबद्ध गर्न आवश्यक रहेको औँल्याउनुभयो । कोषको लगानीलाई आर्थिक विकासको आयाम थप्ने र लगानीको प्रतिफल सुनिश्चित हुने गरी विस्तार गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

कार्यव्रmममा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सञ्चयकर्ताको हित र सुविधाका लागि प्रविधिमैत्री र सहज पद्धति विकास गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर्मचारी सञ्चय कोष ऐन र निवृत्तिभरण कोष ऐनको एकीकृत स्वरूप तयार गरी प्रदेश स्थानीय तह र सार्वजनिक निकायका कर्मचारीलाई योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा आबद्ध गर्ने बताउनुभयो । आधुनिक सूचना प्रविधिलाई अनुशरण गर्दै सेवा प्रवाहलाई कागजरहित अभौतिक र चुस्त बनाउन प्रयास गर्ने भइरहेको उहाँको भनाइ थियो । 

सञ्चयकर्तालाई थपियो सुविधा

सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवको अवसरमा कोषले आइतबारदेखि सञ्चयकर्ता स्वास्थ्य उपचार योजनालाई विस्तार गरेर सञ्चयकर्ता दम्पती स्वास्थ्य उपचार योजनामा रूपान्तरण गरिएको छ । विगतमा यो योजनामा सञ्चयकर्ताले साधारण रोगका लागि उपचार गराइएको हकमा प्रत्येक आर्थिक वर्षमा एक लाख रुपियाँसम्म र घातक रोग उपचारको हकमा सेवा अवधिभरमा १० लाख रुपियाँसम्म भरणपोषण पाउने व्यवस्था थियो । विस्तारित योजना अनुसार अब सञ्यचकर्ताको श्रीमान् या श्रीमतीले पनि यो सुविधा पाउने भएका छन् । 

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमै यस्तो व्यवस्था गर्ने उल्लेख गरेको थियो । यस्तै गरी सञ्चय कोषले सरल चक्र कर्जालाई उपत्यका बाहिर पनि विस्तार गरेको छ । सो योजनामा सञ्चयकर्ताले ३० लाख रुपियाँसम्म धितोमा आधारित कर्जा लिन सक्ने सुविधा छ ।  

सरकारी क्षेत्रका कर्मचारीको सञ्चय कोषको व्यवस्था गरी अवकाशपश्चात्को जीवन सहज बनाउने उद्देश्यले स्थापना भएको कर्मचारी सञ्चय कोषमा हालसम्म पाँच लाख ५२ हजार योगदानकर्ता पुगेका छन् भने निवृत्तिभरण कोषमा पनि ६३ हजार जना आबद्ध भइसकेको जनाइएको छ । सञ्चय कोषको गत आर्थिक वर्षको विवरणले पाँच खर्ब १२ अर्ब रुपियाँ कुल स्रोत रहेको देखाएको छ । यसमध्ये पाँच खर्ब तीन अर्ब रुपियाँ लगानी भएको देखिएको छ । सञ्चय कोषले सञ्चयकर्तालाई बचतमा ७.५ प्रतिशत ब्याज र १.२ प्रतिशत मुनाफा दिँदै आएको जनाएको छ ।