शेरबहादुर सार्की
बाजुरा, भदौ ३१ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ ।
यहाँका किसानले स्याउ बिक्रीका लागि देशका विभिन्न स्थानमा लैजाने योजना बनाए पनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा स्याउ बारीमै थन्किएको हो । स्वामिकार्तिक गाउँपालिका–१, जोरुका किसान धनबहादुर रावलले बारीमा स्याउ लटरम्म पाके पनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा बिक्रीका लागि लैजान समस्या भएको बताउनुभयो । “प्रत्येक वर्ष यो समयमा बाटो बन्द हुन्छ । हाम्रो गाउँमा भने स्याउ पाक्न सुरु हुन्छ । मार्तडी–कोल्टी सडक सधैँ यसरी नै बन्द हुँदा यहाँका किसानलाई स्याउ बिक्रीका गर्न निकै समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो ।
हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका किसानले लगाएको स्याउ भदौ दोस्रो सातादेखि पाक्न सुरु हुन्छ । नजिक बजार नभएपछि स्याउ बिक्रीका लागि देशका अन्य सहरमा लैजानुपरेको रावलले बताउनुभयो । भरियाद्वारा ढुवानी गरी बिक्री गर्न लैजाँदा मूल्य बढी पर्ने उहाँले उल्लेख गर्नुभयो ।
मार्तडी–कोल्टी सडकको बिच बिचमा गएको पहिरोले लामो समयसम्म बाटो बन्द भएको छ । यो बाटो समयमै सुचारु भएन भने जिल्लाको पूर्वीउत्तर क्षेत्रका किसानको स्याउ बारीमै कुहिने समस्या छ । बाजुराको दुर्गममा अर्गानिक स्याउ पाके पनि समयमै बजार लैजान नसक्दा बर्सेनि निकै घाटा बेहोर्नुपरेको स्याउ किसान रावलले बताउनुभयो ।
बाजुराका स्याउ बजारसम्म ढुवानी गर्न कार्टोनसहित अनुदानको समेत व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “तर अहिले सडक खुलेको छैन । सडक खुलेपछि बाजुराको स्याउ देशका विभिन्न सहरमा पुर्याउने तयारी भइरहेको छ ।”
बाजुरामा १७० हेक्टर जमिनमा झन्डै एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुन्छ । यो वर्ष पनि त्यसको दुई प्रतिशत कमीले स्याउ उत्पादन हुने आकलन रहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।
पहिला जगनाथ, बुढीनन्दा र स्वामिकार्तिकमा मात्र उत्पादन हुने स्याउ अहिले गौमूल, खप्तड, छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ । बाजुरामा स्थानीय, फुुजी, गाला र गोल्डेन जातका स्याउ उत्पादन हुने गरेको सूचना अधिकारी जैसीले बताउनुभयो ।
यता मार्तडी–कोल्टी सडक सुचारु गर्ने गरी एक हप्तापहिले नै काम सुरु गरिएको छ । पानी परेका कारण बाटो मर्मत गर्न समस्या भएको छ । पानी रोकिनेबित्तिकै एक दुई दिनमै सो सडक सुचारु हुने पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख रुद्र बोगटीले बताउनुभयो ।