• २३ वैशाख २०८१, आइतबार

'जानकी साहित्य पुरस्कार' आख्यानकार भण्डारीलाई

blog

आख्यानकार हरिप्रसाद भण्डारीलाई पुरस्कार प्रदान गरिँदै । तस्विर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, भदौ २९ गते । गुल्मीको किरण पुस्तकालयले यस वर्षको जानकी साहित्य पुरस्कार आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर धुर्कोट गाउँपालिका–५ वस्तुमा २०१६ जेठ ५ गते जन्मिनुभएका भण्डारीलाई प्रदान गरिएको हो ।  

निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्पराअनुसार यस वर्षको जानकी साहित्य पुरस्कार लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालद्वारा नगद दश हजार रुपियाँ र सम्मानपत्रसहित आख्यानकार भण्डारीलाई सम्मान गरिएको हो । हाल काठमाडौंमा रहनुभएका आख्यानकार भण्डारी नेपाल सरकारका पूर्व उपसचिव हुनुहुन्छ । उहाँले नेपाली साहित्यमा लामो समयदेखि नै निरन्तर आख्यान विधामा कलम चलाउँदै आउनुभएको छ । आख्यानकार भण्डारीले पिएचडी भाइवासमेत सम्पन्न गर्नुभएको छ । 

वि.सं.२०३३ सालमा रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारमा जन्मनुभएकी जानकी गौतम ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा काम गर्दागर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो । ज्ञवालीको सम्झनामा उहाँका श्रीमान शङ्करप्रसाद गौतमको अग्रसरतामा किरण पुस्तकालय तम्घासमा एक लाख ५१ हजार १५१ रुपियाँको अक्षयकोष स्थापना गरिएको थियो। सो कोषमा पुनः गौतमले ५० हजार रुपियाँ थप गरी अहिले दुई लाख एक हजार १५१ रुपियाँ पुर्‍याउनुभएको छ ।

गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने तथा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई पुरस्कार प्रदान गरिँदैआएको पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताउनुभयो । ज्ञवालीको जन्मदिन अवसरमा पुरस्कार कसलाई प्रदान गरिने भनेर घोषणा गरिँदैआएको जानकारी दिनुभयो । वि.सं. २०७३ सालमा स्थापना भएको सो पुरस्कार यसभन्दा अगाडि सूर्यबहादुर सेन वलीले २०७५ मा, भागीरथी श्रेष्ठले २०७६ मा, रामप्रसाद पन्तले २०७७ मा, नारद गौतमले २०७८ मा र रुद्र ज्ञवालीले २०७९ मा प्राप्त गरिसक्नुभएको छ । 

आख्यानकार भण्डारीका चिराग (लघुकथा सङ्ग्रह)–२०४७, अस्वीकृत कथाहरू (कथा सङ्ग्रह)– २०५८, अविरल यात्रा (लघुकथा सङ्ग्रह)–२०६३, चरीका रमाइला कथा (बालकथा सङ्ग्रह)–२०६७, काला सर्पको खोजी (लघुकथा सङ्ग्रह)– २०६७, कुनमिनको सेरोफेरो (नियात्रा)– २०६९ मनको आँखा (बालकथा सङ्ग्रह)–२०६९, गोनू झा र चोरहरू (बालचित्र कथा)–२०७०, धनञ्जय गोत्रीय भण्डारीहरूको वंशावली–२०७०, सुनको स्याल (बाल उपन्यास)–२०७४ का साथै विभिन्न पत्रपत्रिकामा कथाहरू प्रकाशित छन्। विनय कसजुका लघुकथामा व्यङ्ग (समालोचना) प्रकाशित हुने चरणमा छ । 

मोती जयन्तीको अवसरमा पुस्तकालयले बाल तथा वयस्क कविता प्रतियोगिता समेत राखेको थियो । चार जना बाल तथा आठ जना वयस्क गरि १२ जना कविहरुबीच प्रतियोगिता भएको थियो । सहभागि चार जना बाल कविहरुलाई प्रमाणपत्रसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । 

त्यस्तै, आठ जना वयस्क कविहरुको प्रतियोगितामा कवि लक्ष्मणप्रसाद रिजाल प्रथम, कवि रामप्रसाद पन्थी द्वितीय, रामप्रसाद खनाल तृतीय तथा लिलामणी खनाल र शारदा पन्थी खनाल सान्त्वना हुनुभएको छ । उहाँहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको किरण पुस्तकालयका सञ्चालक एवम् प्रतियोगिता  मूल्याङ्कन समिति संयोजक गोपाल पन्थीले जानकारी दिनुभयो । त्यस अवसरमा इन्जिनियर महेश आचार्यले पुस्तकालयको कोष वृद्धिका लागि एक लाख एक हजार १११ रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।