भरतपुर, भदौ २९ गते । व्यवसाय बिस्तारै खस्कँदै गएपछि व्यवसायी पलायन हुँदा देशकै मध्य भागमा रहेको मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै धेरै भाडाका घर खाली हुन थालेका छन् ।
यसअघि घर भाडामा लगाउँदा लाखौँ रुपियाँ ‘सलामी’ (अग्रिम थप रकम) लिने नारायणगढका घरधनीले खाली सटर भाडामा छ भनेर लामो समयदेखि सूचना टाँस्दा पनि अहिले भाडामा बस्ने व्यवसायी पाउनै मुस्किल भएको गुनासो गर्छन् ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बढ्दो आर्थिक मन्दीले व्यवसाय गर्ने वातावरण नहुँदा व्यवसायीले धमाधम पेसा छाडेर पलायन हुनु परेको र त्यसको प्रत्यक्ष प्रभाव सटर भाडामा परेको बताउनुभयो ।
“आर्थिक मन्दी नै अहिलेको मुख्य समस्या हो,” उहाँले थप्नुभयो, “लामो समयदेखि सडक विस्तार गर्ने नाममा भत्काइएका मुख्य राजमार्ग क्षेत्रमा समयमा निर्माण कार्य पूरा गर्न नसक्नु पनि नारायणगढको अर्को समस्या हो ।”
नारायणगढ र भरतपुर क्षेत्रमा कति सटर भाडामा छन् र कति अहिले खाली छन् भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन तर पनि नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष अध्यक्ष जनकलाल कट्टेलका अनुसार नारायणगढ र भरतपुर क्षेत्रमा १० हजारभन्दा बढीले घर भाडामा लिएर व्यवसाय गरिरहेका छन् । यसरी लिने भाडा पाँचदेखि १० वर्षसम्मको सम्झौता घरबेटीसँग गर्ने गरे पनि व्यवसाय नभएपछि बिचमै छाडेर हिँड्नेको सङ्ख्या धेरै भएको उहाँले जनाउनुभयो ।
“हामीले यस्तै समस्यामा परेका ७४ जना घरबेटी र भाडामा बस्ने व्यवसायी बिचमा उत्पन्न विवाद मिलाएका छौँ । अहिले पनि १०÷१२ वटा त निवेदन मञ्चमा दर्ता छ,” उहाँले भन्नुभयो, “अधिकांश निवेदन लिएर आउने व्यवसायी व्यापार नभएका कारण घर छाड्न बाध्य भएको बताउँछन् ।”
नारायणगढको कमल नगरमा रेडियम कपडाको थोक एक भारतीय बिक्रेताले हालै दोकान छाडेर बेपत्ता भए । अहिले घरधनी चार महिनादेखिको भाडा नपाएको गुनासो गर्दै छन् । अध्यक्ष कट्टेल छाडिएका व्यावसायिक घर तथा सटर तत्काल भाडामा लाग्न पनि मुस्किल भएको बताउनुहुन्छ ।
“पहिला पहिला जस्तो सलामी लिएर भाडामा लगाउने जमाना छैन । खाली भएको सटर भाडामा लगाउन पनि मुस्किल छ,” उहाँले भन्नुभयो । वीरेन्द्र बहुमुखी कलेज भरतपुरका अर्थशास्त्रका सहप्राध्यापक सूर्यनारायण पौडेल सटर भाडामा जान पहिला व्यवसाय चल्नुपर्ने धारणा राख्नुहुन्छ ।
“व्यवसाय चल्न पहिला क्रेताकाे क्रयशक्ति बढाउनु पर्यो । पैसा आर्जन हुने बाटो नभएसम्म क्रयशक्ति पनि बढाउन सकिँदैन । देशमा बढ्दो आर्थिक मन्दीले हातमुख जोर्नसमेत धौ धौ भएका बेला कसरी व्यवसाय टिकाउन सकिन्छ ? अनि व्यवसाय नै टिकाउन नसक्ने भएपछि कसरी खाली सटर भाडामा लगाउन सकिन्छ ?” उहाँको प्रश्न थियो ।
उहाँले स्वदेशमै रोजगारीको सिर्जना गर्ने, निजी क्षेत्रभन्दा सरकारी निकायले घर भाडामा लगाउने र यस्तै समस्या पर्दा भाडा छुट दिन सक्ने व्यवस्था हुने हो भने मात्रै पनि व्यवसाय पुनर्स्थापित गराउन सकिने धारणा राख्नुभयो ।
उद्योग वाणिज्य सङ्घ नारायणगढका अध्यक्ष चुननारायण श्रेष्ठ उद्यमशीलताको विकास, अनलाइन मार्केटिङ, व्यवसायीमा तनाव व्यवस्थापनलगायतका काम गरेर पनि व्यवसाय टिकाउने प्रयास भइरहेको बताउनुहुन्छ ।
“व्यवसाय टिकाउन सके मात्रै त सटर पनि भाडामा जान्छ नत्र व्यवसायी पनि मर्ने अनि घर भाडामा लगाउने पनि मर्ने हुन्छ,” उहाँले भन्नुभयो । घर उहाँले मञ्चले पनि अहिलेको समस्या सल्टाउन घरधनीलाई अहिले लिँदै आएको भाडामा २० प्रतिशत भाडा छुट दिन र बढ्ने भाडा नबढाउन आग्रह गरेका छन् ।
“भाडा लगाउने मात्रै बाँचेर भएन, भाडामा बस्ने व्यवसायी पनि बचाउन पर्यो । अहिले अप्ठ्यारो परिस्थितिमा बचाउन सके पो लामो समयसम्म भाडा खाइरहन पाइन्छ,” उहाँले भन्नुभयो ।
सरकारले लिने आर्थिक नीतिमा पनि व्यवसाय टिक्ने नटिक्ने कुरा जोडिएको छ । अहिले बैङ्क तथा वित्तीय संस्थाले लिने महँगो ब्याजले पनि व्यवसाय टिकाउन गाह्रो भइरहेको छ । सहप्राध्यापक पौडेल भन्नुहुन्छ, “सरकारले आर्थिक मन्दीको समस्या समाधान गराउन तत्काल ठोस योजना अघि सार्दै पहिला बैङ्क तथा वित्तीय संस्थाले ब्याज घटाउनु पर्यो । अनि मात्रै त व्यवसायी पनि बच्छन्, खाली भएका सटर पनि भरिन्छन् ।”