• १४ मंसिर २०८१, शुक्रबार

सिप सिक्दै महिला

blog

राजकुमार भट्टराई 

खोटाङ, भदौ २९ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका महिला यति बेला बाँसका सामग्री निर्माण गर्न व्यस्त छन्। बाम्राङको वडा कार्यालयमा सञ्चालन भइरहेको तालिममा सहभागी महिला बाँसका सामग्री निर्माण गर्न व्यस्त भएका हुन्। 

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको समन्वयमा महिला उद्यमी महासङ्घले बाँसका सामग्री निर्माण गर्ने एकमहिने तालिम आयोजना गरेको हो। तालिममा ३० जना महिला सहभागी हुनुहुन्छ। तालिममा सहगाभी सबै महिला अहिले धमाधम बाँसका सामग्री निर्माण गरिरहनुभएको छ। उहाँहरू आफैँले बाँसका चोया काढेर पेनकेस, ¥याक, फूलदानी, डुङ्गा, बास्केट र डस्टबिन बुनिरहनुभएको छ। 

गाउँघरमा प्रायः पुरुषले गरिरहेको यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने उहाँहरूलाई लाग्दैन थियो तर अहिले सिक्दै जाँदा सम्भव रहेछ भन्ने लागेको बाम्राङकी रोजिना रिजाल बताउनुहुन्छ। “पहिले यो छोरा मान्छेले गर्ने काम भनेर खासै गरिएको थिएन तर छोरी मान्छेले नगरेर रहेछ, ग¥यो भने सकिने रहेछ,” उहाँले भन्नुभयो, “गाउँमा बाँस टन्न पाइन्छ, अब तालिमपश्चात् यही व्यवसाय गर्ने सोचमा छु।”

बाँसका सामग्री निर्माण गर्न १५ दिन सिक्नुभएकी प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बन्नुभएको छ। शर्मिला लामाले प्रशिक्षण दिएर गएपछि अहिले राईले सिकाउने काम गरिरहनुभएको छ। तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै सिकाउँदै गरिरहनुभएकी राई यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउनुहुन्छ। महिलाले केही गर्न सक्दैन भन्ने समाजका अगाडि पुरुषहरूले गरिरहेको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना रहेको उहाँको भनाइ छ । 

तालिममा सहभागी ३० जना महिलामध्ये २५ जना बाम्राङका हुनुहुन्छ। बाँकी चार जना वडा नम्बर १ दिक्तेल र एक जना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिला सहभागी रहनुभएको महिला उद्यमी सङ्घ खोटाङकी कोषाध्यक्ष सन्जु खत्री बस्नेतले बताउनुभयो। आगामी दिनमा यही पेसाबाट महिलाहरूले आम्दानी गर्न सकुन् भनेर तालिमको आयोजना गरिएको उहाँको भनाइ छ। तालिमपश्चात् महिलाले बुनेको सामग्रीको बजारीकरणसमेत सङ्घले गरिदिने छ।