• १ जेठ २०८२, बुधबार

स्वास्थ्य बजेट खर्च गर्न बन्यो मार्गदर्शन

blog

लीलाधर वली

घोराही, भदौ २८ गते । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि मार्गदर्शन तयार गरेको छ। 

स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रूप दिइएको हो। स्वास्थ्य सचिव डा. जनार्दन पन्थीका अनुसार स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आव २०८०/८१ मा सञ्चालन हुने एकीकृत स्वास्थ्य तथा सरसफाइ र प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरण गर्न मार्गदर्शन तयार गरिएको हो। चालु आव स्वास्थ्य मन्त्रालय तथा कार्यालयबाट सञ्चालन हुने १७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको छ। छलफलबाट अन्तिम रूप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ। स्वास्थ्य सचिव डा. पन्थीको अध्यक्षतामा भएको परामर्श बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुने गरी मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताउनुभयो।

मन्त्री खनालले निर्माण हुन बाँकी रहेका कार्यविधि एक साताभित्र निर्माण गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाइ नगर्न आग्रह गर्नुभयो। उहाँले मन्त्रालयले यस वर्षदेखि सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनुभयो। 

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरी दोहोरोपना हुने काम नगर्न आग्रह गर्नुभयो। स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयुर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरी १५७ वटा कार्यक्रमको मार्गदर्शन तयार भएको जनाइएको छ।