• १६ वैशाख २०८१, आइतबार

अनलाइनमार्फत नेता नेम्वाङलाई श्रद्धाञ्जली दिने व्यवस्था

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २७ गते । नेकपा (एमाले) ले दिवङ्गत हुनुभएका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति अनलाइनमार्फत श्रद्धाञ्जली व्यक्त गर्नसक्ने व्यवस्था मिलाएको छ । 

सो दलको आधिकारिक अनलाइन पोर्टलबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । 

एमालेको आधिकारिक अनलाइन पोर्टल सिपिएनयूएमएल डट ओआरजी खोलेपछि हार्दिक श्रद्धाञ्जलीको पेज डिस्प्ले हुन्छ । त्यसमा रहेको ‘क्लिक गर्नुहोस्’ बटनमा थिच्दा श्रद्धाञ्जली व्यक्त गर्न चाहने व्यक्तिको नाम, फोन, ठेगाना र सन्देश प्रवाह बक्स आउँछ ।

संविधान सभाका अध्यक्ष नेम्वाङप्रति दिन चाहेको लिखित श्रद्धाञ्जलीका शब्दहरू लेखेर सन्देश बक्समा राखेर सबमिट बटनमा क्लिक गर्दा सन्देश रजिष्टर्ड हुने विष्टले बताउनुभयो । अहिलेसम्म हजारौंं जनाको श्रद्धाञ्जलीका सन्देशहरू अनलाइनमार्फत प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो । 

अहिले अनलाइन प्रविधि प्राथमिकतामा रहेको र विश्वभरिबाट शुभेच्छुकले नेता नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्दहरू सम्प्रेषण गर्न सक्नेगरी अनलाइनमार्फत श्रद्धाञ्जली अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको सचिव विष्टले जानकारी दिनुभयो ।  

भदौ २६ गते मंगलबार बिहान १ः५० बजे उपाध्यक्ष नेम्वाङको निधन भएको थियो । पार्टी मुख्यालय च्यासलमा राखिएको उहाँको पार्थिव शरीर आज आफन्त र शुभेच्छुकका लागि श्रद्धाञ्जली व्यक्त गर्न निजी निवास बालुवाटारमा राखिएको छ । उहाँको भोलि २८ गते बिहीबार पशुपति आर्यघाटमा बिहान ११ बजे अन्तिम संस्कार गरिने एमालेले जनाएको छ । सो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।