प्रकाशविक्रम शाह
बुढीगङ्गा (बाजुरा), वैशाख २७ गते । बाजुराको् बुढीगङ्गा नगरपालिकाले पालिकाको विकासलाई तीब्रता दिनका लागि नयाँ खालको शैली अपनाएर “कचहरी ” आयोजना गरेको छ । शनिबार सुरु भएको कचहरीको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने “कचहरी ” मा बाजुराबाट प्रतिनिधित्त्व गर्ने सङ्घ, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, सुदूरपश्चिम प्रदेशको नीति आयोग, विकासे संस्थाका अगुवाको सहभागिता छ।
नगर प्रमुख रामबहादुर बाँनियाले विकासका लागि “कचहरी ” आयोजना गर्नुको अर्को कारण राजनीतिक दललाई एकताबद्ध बनाएर जानु पनि भएको बताउनुभयो ।
हुन पनि “कचहरी ” मा नेपाली काङ्ग्रेसबाट ०४८ सालको प्रतिनिधि सभा सदस्य, २०६४ को संविधान सभा सदस्य र सुदूरपश्चिम प्रदेश प्रमुख भइसक्नु भएका देवराज जोशी, एमालेबाट ०७० को संविधान सभा सदस्य तथा तत्कालीन मन्त्री कर्णबहादुर थापा, एमालेबाटै ०५४ का जिल्ला विकास समितिका सभापति तथा ०७४ प्रतिनीधि सभा सदस्य लालबहादुर थापा, प्रदेशका पूर्व मन्त्री पठानसिंह बोहरा, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैशी, लगायतका दल, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुहुन्छ ।
यस्तै गरेर संविधान सभा सदस्य पेम्वा शेर्पा भोटे, पूर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी, देवकी मल्ललगायतको सहभागिता छ । प्रदेश सभा सदस्य नरेश शाही, पदमबहादुर शाही, प्रदेशका पूर्व मन्त्री प्रकाशबहादुर शाह, बुढीगङ्गाका पूर्व नगर प्रमुख दीपकबहादुर शाह लगायतले पछिल्ला दुई दिनमा सहभागिता हुने जनाइएको छ ।
हामीले “कचहरी ” मार्फत आगामी बजेटका सन्दर्भमा मात्र होइन बुढीगङ्गालाई २० वर्षपछि कस्तो बनाउने भन्ने बारेमा पनि छलफल गर्छो नगर प्रमुख बाँनियाले बताउनुभयो ।
गाउँघरमा कुनै काम गर्दा हुने छलफललाई “कचहरी ” भनिन्छ । बुढीगङ्गाको “कचहरी ” मा शिक्षा तथा मानव संसाधन, स्वास्थ्य सरसफाई तथा स्वच्छता, कृषि तथा पशुपालन, प्राकृतिक स्रोत, पर्यटन, विकास र विपद्, भौतिक पूर्वाधार, सूचना प्रविधि, सुशासन, सामाजिक अभियान, तथा सशक्तिरण बारे अवधारणा पत्र प्रस्तुत गरिएको छ । “कचहरी ” ती विषयमा छलफल गरेर कार्यक्रमको अन्तिम दिनमा आगामी कामको बारेमा घोषणा पत्र जारी गरिने प्रमुख प्रशासकीय अधिकृत अम्बरराज जोशीले बताउनुभयो ।