सुर्खेत समाचारदाता
सुर्खेत, भदौ २७ गते । कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको खोप लगाइने भएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा १४ वर्ष उमेरका मात्र ८०१ बालिकालाई सो खोप लगाइने छ। भदौ २७ देखि ३० सम्म सो खोप लगाइने छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको छ। महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ। स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कर्णालीमा पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकाले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको हो। कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ महिलाको परीक्षण गर्दा पाँच जनामा सो रोग देखा परेको छ।
स्वास्थ्य विभागका खोप फोकल पर्सन पार्थमणि न्यौपानेका अनुसार प्रदेश अस्पतालका लागि ८०१ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र सो खोप लगाइने छ। प्रदेश अस्पतालमा खेर जान सक्नेसहित गरी ८४१ डोज खोप आएको छ। त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइने छ। लक्ष्य भने तीन हजार ७९३ जनालाई लगाउनुपर्ने हो। खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमका अनुसार यो खोप दुई मात्रा लगाउनु पर्छ। पहिलो मात्रा लगाएको छ महिनापछि अर्को मात्र लगाइने छ। २०६५ भदौ ३० देखि २०६६ भदौ ३० भित्र जन्मेका बालिकालाई मात्र अहिले सो खोप लगाइने छ। विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने बालिका तथा विद्यालयबाहिरका १४ वर्ष उमेर समूहका बालिकालाई मात्र सो खोप लगाइने छ।
खोप लगाइसकेपछि खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने तथा एलर्जी हुन सक्ने असर भए पनि केही समयपछि सो समस्या आफैँ हट्ने भएकाले लक्षित वर्गले खोप लगाउनुपर्ने विज्ञको सुझाव छ।