राजन रावत
हुम्ला, भदौ २७ गते । जिल्ला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले आफ्नो कार्य क्षेत्रमा पुगेर कार्यभार सम्हाल्नु भएको छ । कार्य क्षेत्र सर्केगार्ड गाउँपालिकामा तोकिएपछि प्रशासकीय अधिकृत लामा गाउँपालिका केन्द्र पुगेर आफ्नो कामको जिम्मा लिनु भएको हो ।
गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले प्रशासकीय अधिकृत लामालाई खादा लगाएर कार्यालयमा स्वागत गर्नु भएको थियो । स्वागत कार्यक्रममा अध्यक्ष रोकायाले पहिलो महिला प्रशासकीय अधिकृत गाउँपालिकाले पाएको र काम गर्न पनि सहज हुने बताउनुभयो ।
लामा जिल्ला मै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै हुनुहुन्छ । आफ्नो जिम्मेवारी सम्हाल्नुहुँदै अधिकृत लामाले इमानदारीताका साथ काम गर्ने जानकारी दिनुहुँदै दुर्गम भए पनि सुशासन कायम हुने गरी लाग्ने बताउनुभयो ।
गाउँपालिकाको केही फरक पहिचान बनाउने गरी काम गर्ने सोचमा रहेको बताउनुहुँदै उहाँले यसका लागि जनप्रतिनिधिहरूको सहयोगको अपेक्षा राख्नुभयो । आन्तरिक स्रोत थोरै भएको गाउँपालिका भित्र सर्केगार्ड गाउँपालिका पर्छ । उहाँले भएकै साधन र स्रोतबाट अधिकतम लाभ पुग्ने कामका लागि आफ्नो प्राथमिकता रहने बताउनुभयो ।
गाउँपालिका जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यालय भएको कारण सबैको साझा मत बनाएर काम गर्ने प्रयत्न गर्ने उहाँको भनाइ छ । लामाले गाउँपालिकाले तय गरिसकेको कार्यक्रमहरूलाई नियम सङ्गत कार्यान्वयन गर्नेमा जोड दिने समेत बताउनुभयो । आफ्ना लागि सबै कर्मचारी बराबर भएको बताउनुहुँदै उहाँले सबै मन जित्ने गरी काम गर्ने चाहाना आफ्नो भएको बताउनुभयो ।