• १९ पुस २०८१, शुक्रबार

कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प

blog

जुम्ला समाचारदाता

जुम्ला, भदौ २७ गते । कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो। 

इलाका प्रशासनमा नागरिकता लिने मानिस गइरहेका हुन्छन् तर कर्मचारी नभएको भन्दै फर्किने गरेका छन्। सेवाग्राही दलसिंह रोकाले इलाका प्रशासन कार्यालय, नराकोटमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा वर्षायामको झरी अनि भौगोलिक विकटता र कठिनाइका साथ सेवा लिन आए पनि रित्तै फर्कनु परेको गुनासो गर्नुभयो। 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार निमित्तका रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको सरुवा भएपछि अर्का कर्मचारीको खोजी भइरहेको छ। उहाँले त्यहाँको कर्मचारीका लागि गृह मन्त्रालयमा माग गरिसकेको भन्दै अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने बताउनुभयो। 

इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा अधिकृतस्तरको दरबन्दी भए पनि सरकारले कर्मचारी पठाउन सकेको छैन। अधिकृतस्तरका कर्मचारी स्थानीय सुमन धितालले पहिलो पटक त्यहाँ गएर सेवा दिनुभएको थियो। उहाँ २०७३ कात्तिकमा सरुवा भएर गएपछि हालसम्म सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन सकेको छैन। अधिकृतस्तरको कर्मचारी नहुँदा पाँच वर्ष अनुभव भएका नायब सुब्बालाई खटाउने व्यवस्था भए पनि ती कर्मचारीसमेत नपाइएको स्थानीय प्रशासनले जनाएको छ।