• ११ मंसिर २०८१, मङ्गलबार

‘विद्युतीय सवारीमा कर नबढाउने नीति’

blog

काठमाडौँ, भदौ २७ गते । अबको समय विद्युतीय सवारीको भएकाले तत्काल यसमा कर बढाउने नीति नरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । 

राजधानीको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो २०२३’ उद्घाटन गर्दै उहाँले सरकारको नीति विद्युतीय सवारीको प्रवर्धन नै भएकाले आगामी दिनमा अत्यन्त कम मात्र कर बढाइने बताउनुभएको हो । 

कार्यक्रममा मन्त्री डा. महतले नेपालमा तत्काल सवारी उत्पादन हुन नसके पनि पार्टपुर्जा उत्पादनको तयारी सुरु गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । व्यवसायीहरू अब उत्पादक एसोसिएसन बनाउनतर्फ लाग्नुपर्ने उहाँको सुझाव थियो । 

फरक सन्दर्भमा अर्थमन्त्री डा. महतले व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभयो । खर्च बढाउनु अहिलेको आवश्यकता भएकाले अर्थतन्त्रमा बिस्तारै सुधार आउने उहाँको भनाइ थियो । निजी क्षेत्रले दिएको सुझावलाई पनि सरकारले कार्यान्वयन गर्ने बताउँदै उहाँले अर्थतन्त्रमा पैसा चलायमान हुन थालेपछि समस्या समाधान हुने बताउनुभयो । 

‘नाडा अटो सो’ मा आयातकर्ता कम्पनीले नयाँ मोडलका विद्युतीय सवारी तथा कार सार्वजनिक गरेका छन् । अटो सोका अवलोकनकर्ताले अटो क्षेत्रमा विकसित नयाँ प्रविधिबारे जानकारी पाउने आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ । अटो सोमा कुल १२० वटा स्टल रहेका छन् ।