चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुको बिपुधाप टोलका बासिन्दालाई पाइप वितरण गरिएको छ । पानीको समस्या रहेको बिपुधाप टोलमा खानेपानी व्यवस्थाका लागि गाउँपालिकाले पाइप वितरण गरेको हो ।
यस वर्षको वर्षातको समयमा बाढी र पहिरोले मुहान तथा धारामा क्षति गरेपछि बिपुधापमा खानेपानीको समस्या रहँदै आएको थियो । करिब दुई दर्जन परिवारको बसोबास रहेको सो टोलमा तत्कालका लागि खानेपानी समस्या समाधान गर्न पाइप वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार करिब तीन हजार मिटर अर्थात् १२ कुवेल (बण्डल) खानेपानीको पाइप वितरण गरिएको छ । गाउँपालिकाले पाइप उपलब्ध गराएपछि खानेपानीको समस्या समाधान हुनेमा बिपुधापवासी विश्वस्त छन् । गएको असार र साउन महिनामा वर्षासँगै विभिन्न समयमा गएको बाढीपहिरोले खानेपानीमा क्षति गरेका कारण स्थानीयले पानीको समस्या खेप्दै आएका छन् ।