• ४ जेठ २०८२, आइतबार

प्रदेश सभा सदस्य विन्दु यादवको निधन

blog

मधेश प्रदेश सभाका सदस्य विन्दु यादव पार्थिव शरीर र शुभचिन्तक ।

जनकपुरधाम, भदौ २७ गते। मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको मंगलबार बिहान ८ बजेर १५ मिनेट जाँदा जनकपुरधामको प्रादेशिक अस्पतालमा निधन भएको छ। सर्लाही निवासी ४५ वर्षीया यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहनुभएको थियो। 

तत्कालीन मधेशी जनअधिकार पार्टीको स्थापना कालदेखि नै राजनीतिमा सक्रिय यादव मधेशी, दलित, आदिवासी, जनजाति एवं महिलाका हक तथा अधिकारका लागि सङ्घर्ष गर्दै आइरहनुभएको थियो। उहाँ जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो। 

प्रदेश सभा सदस्य यादवको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनता समाजवादी पार्टीको जनकपुरधामस्थित प्रदेश कार्यालयमा राखिएको छ। पार्थिव शरीरको अन्त्येष्टि आज अपराह्न जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिनेछ। 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालमा मधेशी जनताको न्यायपूर्ण र सम्मानजनक स्थान हुनुपर्ने मान्यताका लागि दिवङ्गत यादवले सदैव सङ्घर्ष गर्नुभएकी र उहाँको निधनबाट मधेशले एक जुझारु नेतृ गुमाएको बताउनुभयो।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले यादवको असामयिक निधनले प्रदेशसभाले अपेक्षित योगदान पाउन नसक्ने दुःखद अवस्था सिर्जना भएको बताउनुभयो।  

जनता समाजवादी पार्टीका नेता एवं मधेश प्रदेशका ऊर्जा तथा सिँचाइ मन्त्री सिंहासन साह कलवारले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र मधेशी जनताको अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा नेतृ यादवको अग्रणी भूमिका रहेको स्मरण गर्नुभयो।