नवराज कट्टेल
मोरङ, भदौ २६ गते । मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रुवाहक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालकसमेत रहेका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनुहुन्छ ।
देशभर र कोशी प्रदेशका मुख्य मुख्य स्थानमा चार्जिङ स्टेसन निर्माण अन्तिम प्रव्रिmयामा पुगेपछि चार महिनाअगाडि राईले ४५ लाख मूल्यमा विद्युतीय यात्रुवाहक सवारी खरिद गर्नुभएको हो ।
वातावरणमैत्री र आरामदायी सवारी भएका कारण यात्रुको आकर्षण पनि उस्तै छ । देशभरका ५१ स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन गत बुधबारदेखि सञ्चालनमा आउँदा विराटनगर बसपार्कसहित कोशी प्रदेशका नौ स्थानमा यो सुविधा उपलब्ध छ । विराटनगर बसपार्कमा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसन छ । जसमा एकसाथ तीन वटा सवारीसाधन चार्ज गर्न सकिन्छ । एक पटक चार्ज गर्दा ४६५ रुपियाँ शुल्क बुझाउनु पर्ने राईले जानकारी दिनुभयो । यसरी सवारीको ब्याट्री (ब्याकअप) फुल चार्ज गर्दा तीन सय किलोमिटर दुरीसम्म थेग्ने दाबी छ ।
विराटनगर बसपार्कबाट लामो तथा छोटो दुरीका लागि ४५० सवारी दैनिक छुट्ने गर्छन् तर विद्युतीय सवारीको सङ्ख्या भने दुई वटा मात्रै रहेका छन् । केही समयपछि विराटनगर बसपार्कबाट छ वटा विद्युतीय सवारी सञ्चालनमा आउने राईले जानकारी दिनुभयो ।
विराटनगर बसपार्क सञ्चालन समितिका सहसचिव राजु धमालाले अहिले दुई वटा सवारी परीक्षणका रूपमा छोटो दुरी गरिरहेको जानकारी दिनुभयो । विराटनगर–काँकडभिट्टासम्मको दुरीमा विद्युतीय यात्रुवाहक सवारी सञ्चालन हुनका लागि माइव्रmोभ्यान नभई बसको मोडल बढी प्रभावकारी हुने धमलाको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले मुलुकभर सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनहरू पूर्ण स्वचालित रहेका छन् । नेपाल विद्युत् प्राधिकरणको एनइए एप मोबाइलमा डाउनलोड गरेर चार्ज गर्ने र शुल्क बुझाउने सुविधा दिइएको छ । विराटनगरमा एक, झापाको बिर्तामोडमा दुई, दमकमा दुई, सुनसरीको इटहरी र इनरुवामा एक÷एक, उदयपुरको बेलकामा दुई रहेका छन् ।
विराटनगरको चार्जिङ स्टेसनमा एकसाथ तीन सवारी चार्ज हुने सुविधा छ । प्राधिकरणले पिक समय (साँझ ५ बजेदेखि राति ११ बजे) लाई प्रतियुनिट १० रुपियाँ ४४ पैसा र अफ पिक समय (राति ११ बजेदेखि बिहान ५ बजेसम्म) छ रुपियाँ ०६ पैसा, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म आठ रुपियाँ २८ पैसा चार्जिङ शुल्क तोकेको छ ।