• १० जेठ २०८१, बिहिबार

ताप्लेजुङ अस्पतालको आइसियु उपकरण प्रयोगविहीन

blog

ताप्लेजुङ जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको आईसीयू उपकरण । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २५ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसियु) का लागि व्यवस्थापन गरिएको उपकरण प्रयोगविहीन छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसियु सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो ।

आइसियु व्यवस्थापन तथा सञ्चालनका लागि संरचना रहेपनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन भएको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिए पनि सञ्चालनमा नआएकाले आइसियु राख्नुको कुनै अर्थ नरहेको सेवाग्राहीले बताउँदै आएका छन् । जिल्लामै आइसियुका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीले सेवाबाट वञ्चित हुनुपरेको फुङ्लिङ नगरपालिका–५ का स्थानीय विक्रम लिम्बूले बताउनुभयो ।

जिल्ला अस्पतालमा आइसियु सञ्चालनमा रहेको भए महामारी मात्र नभई अन्य सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीका लागि ठुलो राहत पुग्ने लिम्बूले बताउनुभयो । आइसियु उपकारण भएर पनि सञ्चालनमा नआएका कारण सुविधाबाट वञ्चित हुनु भनेको दुर्गम हिमाली जिल्लाका सेवाग्राहीका लागि दुःखद अवस्था भएको उहाँको भनाइ छ ।

प्राविधिक जनशक्ति अभावकै कारण आइसियु सञ्चालनमा नआएको जिल्ला अस्पतालकी सूचना अधिकारी विजया राईले जानकारी दिनुभयो । राईका अनुसार बालबालिकाका लागि मात्र प्रयोग गर्न मिल्ने उपकरण भएको र उपलब्ध उपकरण प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको हो । पछिल्लो समय जिल्ला अस्पतालमा आवश्यकता परे उपकरण सञ्चालन गर्नेसक्ने दक्ष चिकित्सक उपलब्ध भएपनि उपकरण चलाउन अर्थात् आइसियु सञ्चालनमा ल्याउनका लागि प्राविधिक जनशक्तिकै आवश्यक हुने उहाँले बताउनुभयो । 

यस्तै, आइसियु सञ्चालनका लागि प्रदेश सरकारसँग कुरा राख्दा प्राविधिक जनशक्ति उपलब्ध गराउन नसक्ने जवाफ पाएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताउनुभयो । प्रदेश सरकारले जनशक्ति उपलब्ध गराउन नसक्ने भएपछि समितिमा निर्णय गरेर सङ्घीय सरकारसँग माग गर्ने योजना बनाउँदै गरेको लामाले जानकारी दिनुभयो ।

यता जिल्लामा हालसम्म सघन स्वास्थ्य उपचार सेवा (आइसियु) नहुँदा सेवाग्राहीले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । लामो समयदेखि आइसियु नहुँदा र पछिल्लो समय उपकरण भएर पनि सञ्चालनमा नआएका कारण जिल्ला बाहिर जाँदा सेवाग्राहीले मोटो रकम खर्चिनुपर्ने अवस्था छ । आइसियु अभावकै कारण समयमा उपचार सुविधा नपाउँदा कतिपयले ज्यानसमेत गुमाउनु परेको छ ।