• १३ मंसिर २०८१, बिहिबार

कर्मचारी नहुँदा नागरिकता वितरण रोकियो

blog

ईलाका प्रशासन कार्यालय सिंजा नराकोटमा नागरिकता लिन आएका सेवाग्राही अलपत्र। तस्बिर : नेत्र शाही।

नेत्र शाही

जुम्ला, भदौ २५ गते । कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अर्को कार्यालय उपस्थित नहुँदा नागरिकता वितरण कार्य बन्द भएको हो । 

सिञ्जा क्षेत्रको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासनबाट नागरिकता वितरण सुरु भएपछि सहज भएको थियो तर अहिले बन्द हुँदा नागरिकहरूलाई फेरी सास्ती भएको छ । 

इलाका प्रशासनमा नागरिकता लिने मानिसहरू गइरहेका हुन्छन् तर कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । सेवाग्राही दलसिंह रोकाले भन्नुभयो, “इलाका प्रशासन कार्यालय नराकोटमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा वर्षायामको झरी अनि भौगोलिक विकटता र कठिनाइका साथ सेवा लिन आएका सेवाग्राहीको निराशापन र दर्दनाक पिडा भएको छ ।” 

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार हप्ता, दश दिन अगाडि त्यहाँ निमित्तको रूपमा खटाएको नायव सुब्बा सुरत गिरीको अर्कै स्थानमा सरुवा भएपछि अर्को कर्मचारी खोजी भइरहेको छ । आफूले त्यहाँको कर्मचारीका लागि गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । उहाँले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने बताउनुभयो । 

आउँदैनन् दरवन्दीका अधिकृत 

इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटमा अधिकृत स्तरको दरबन्दी छ, तर सरकारले पठाउन सकेको छैन । स्थानीय सुमन धिताल अधिकृत स्तरको कर्मचारी पहिलो पटक त्यहाँ गएर सेवा दिनुभएको थियो । उहाँको २०७३ कात्तिकमा सरुवा भयो । त्यसपछि २०७३ देखि हालसम्म सरकारले अधिकृत स्तरको कर्मचारी पठाउन सकेको छैन । अधिकृत स्तरको कर्मचारी नहुँदा ५ वर्ष अनुभव भएका नायव सुब्बालाई खटाउने व्यवस्था छ । तर ती स्तरका कर्मचारी समेत नपाइएको स्थानीय प्रशासनले जनाएको छ ।