• २२ असार २०८१, शनिबार

मुसहर समुदायका पीडा,नागरिकता बनाउन तिस हजार !

blog

लहान समाचारदाता

लहान, भदौ २५ गते । सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् । धनगढीमाई नगरपालिका–९, मुसहर्नियामा ४५ घरपरिवार रहेका सदाय बस्तीमा अहिले पनि २० परिवारसँग नागरिकता छैन भने बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना हुन पाइरहेका छैनन् । मलहु सदायका पत्नी रामकुमारी सदाय भन्नुहुन्छ, “नागरिकताका लागि चाहिने आवश्यक कागजात लिएर सिरहा जिल्ला प्रशासन कार्यालयमा पाँच पटक पुगे पनि नागरिकता बनाइदिएनन् । पाँचौँ पटक जाँदा एक कर्मचारीले झ्यालनजिक बोलाएर नागरिकता बनाउन ३० हजार रुपियाँ मागे । पतिले यति धेरै रुपियाँ कहाँबाट ल्याएर दिने भनेपछि घर फर्केर आयौँ ।”

मलहु सदाय र रामकुमारी सदायका आठ वर्षीय छोरी चन्द्रिका सदाय र सात वर्षीय छोरी चन्दा सदायको जन्मदर्ता नहुुँदा विद्यालयमा भर्ना भएका छैनन् । मलहु र रामकुमारी सदाय जस्तै त्यस बस्तीमा ३० जनाले नागरिकता पाएका छैनन् । हरवाचरवा कार्यक्रम अन्तर्गत दलित जनकल्याण युवा क्लब लहानबाट सहजकर्ता आशा विश्वकर्माले धमिनी महिला तथा बचत कार्यक्रम सञ्चालन गरेपछि त्यस समूहमा डेढ लाख रुपियाँ जम्मा भएको उहाँले बताउनुभयो । नागरिकता नभएका मुसहर समुदायको नागरिकता र जन्मदर्ताका लागि धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जन सव्रिmयताका साथ लाग्नुभएकाले समस्या समाधान हुनेमा आशावादी रहेको महिला समूहका अध्यक्ष पुकारी रामले बताउनुभयो । 

बरियारपट्टी वडा नं. ३, तिलैया बतीका मुसहर समुदायका ५५ घरपरिवारमध्ये १० जनाको नागरिकता नहुँदा बालबालिकाको जन्मदर्ता बनिरहेको छैन । तिलैयानजिकै रहेको विद्यालयमा मुसहर समुदायको बालबालिका भर्ना हुनबाट वञ्चित भएका हरवाचरवा कार्यक्रम अन्तर्गत जय माँ दुर्गा महिला बचत समूहकी अध्यक्ष कबुतरीदेवी सदायले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐलानी जग्गामा घर छ, नागरिकता नहुँदा बालबालिकाको भर्ना भएको छैन ।” 

मुसहर बस्तीमा नागरिकता टोली खटाएर समस्या समाधान गरिने आश्वासन विभिन्न नेताले पटक पटक दिए पनि समस्या ज्युँका त्युँ छ । औरही गाउँपालिका–४, इटाटारका मुसहर समुदायको पीडा पनि नागरिकता र जन्मदर्ता नै रहेको छ । नागरिकता र जन्मदर्ता नहुँदा विभिन्न सरकारी सुविधा र बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित भइरहेको स्थानीय कमलेश सदायले बताउनुभयो । वडाध्यक्ष सुरेन्द्र यादवका अनुसार पहिले धेरै जनाको नागरिकता थिएन । बनाउँदा बनाउँदै अझै पनि केही घरपरिवारको नागरिकता नभएको अवस्था छ । नागरिकताका लागि आवश्यक कागजात जुटाएर नागरिकता र जन्मदर्ता बनाउन वडा कार्यालयबाट नै पहल भइरहेको छ । 

मधेश प्रदेश सभा सदस्य ललितादेवी दासले मुसहर समुदायको अवस्था हेर्दा ती समुदायका लागि कुनै सरकार नै नरहेको अनुभव सुनाउनुभयो । उहाँले थप्नुभयो, “मधेश प्रदेश सभामा आवाज उठाउँदै आइरहेको छु । मुसहर समुदायको नागरिकता र जन्मदर्तासँगै आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रम तीनै तहको सरकारले गर्न आवश्यक छ ।”