• ११ मंसिर २०८१, मङ्गलबार

‘लघु, घरेलु तथा साना उद्योगले खुसी ल्याउँछ’

blog

काठमाडौँ, भदौ २५ गते । परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगको प्रवर्धनमा जोड दिनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एज्ड इन्डस्ट्रिजले आइतबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “परिवारमा सुख, समृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईंहरूको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डो-याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।”

उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबिच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

“नेपाल र भारतबिच अत्यन्त निकटसम्बन्ध रहेको छ, हामी एउटै नदीको पानी पिएर हुर्किन्छौँ । हाम्रो सभ्यता र संस्कृति एउटै रहेको छ । दुवै देशबिचको व्यावसायिक सम्बन्धलाई सुदृढ गर्न मेरोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्रीय समितिका अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस् या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस् घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । 

नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिंहले भन्नुभयो, “हामी नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोड्न चाहन्छौँ । आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधिको अध्ययन भ्रमण गराउन चाहन्छौँ ।” 

कार्यक्रमका संयोजक एवं घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समितिका महासचिव डा. सोनी महतोले महिला उद्यमशीलताको क्षेत्रमा लगानी वृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज सिपमूलक तालिम, सरल व्यावसायिक कर्जा तथा उपयुक्त प्रविधिमा सरसहयोग विस्तार गर्न जोड दिनुभयो । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले देश विकासको महत्वपूर्ण पाटो आर्थिक विकास भएको भन्दै रोजगारी सिर्जना गर्ने व्यवसाय सिर्जना गर्नुपर्ने बताउनुभयो । 

सांसद प्रतिमा गौतमले सांस्कृतिक, धार्मिक र सामाजिक रूपमा नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । समृद्धिको प्रमुख औजार उद्योग भएको भन्दै उहाँले महिलाले घरपरिवार पनि सम्हाल्नुपर्ने र घरायशी श्रमको मूल्यमा गणना नहुने अहिलेको समस्या भएको बताउनुभयो ।

थुप्रै सम्भावना भए तापनि हामीले उल्लेख्य काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयो, “राज्यले महिलाको सक्षमता वृद्धि गर्न थुप्रै काम गर्न बाँकी छ । घरेलु उद्योगलाई विशेष सेवा सुविधा दिनु जरुरी छ ।”

कार्यक्रममा महिला उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपाल र भारतका अग्रणी महिला उद्यमीलाई सम्मान गरिएको थियो ।

ग्लोबल इन्डिया मिसनका अध्यक्ष सुनीलकुमार सिंहले कार्यक्रममा ३५ भारतीय महिला उद्यमी सहभागी रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपाली महिला उद्यमीको औद्योगिक अवलोकन भ्रमणमा हाम्रो पूर्ण सहयोग रहने छ ।”

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, केन्द्रीय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, नागार्जुन नगरपालिका उपप्रमुख सुशीला अधिकारी, महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेललगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो ।