• ६ जेठ २०८१, आइतबार

त्रियुगा नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

blog

स्वास्थ्य चौकी जाल्पाचिलाउनेलाई एम्बुलेन्स हस्तान्तरण गर्नुहुँदै त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत ।

भक्तिविलास पोखरेल

गाईघाट, भदौ २४ गते । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रभित्रका असहाय, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई नगरपालिकाले शनिबारदेखि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ । वडा नं १६ को सुकौरा बजारमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर प्रमुख वसन्तकुमार बस्नेतले यो सेवा सुरु गरिएको जानकारी दिनुभएको हो । 

माछापुच्छ्रे बैंक र सानिमा जेनेरल इन्स्योरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २५ लाख रुपियाँको लागतमा सो एम्बुलेन्स ल्याइएको हो । जसमा इन्स्युरेन्स कम्पनीको १५ लाख, बैंकको पाँच लाख र १६ नं वडा कार्यालयको पाँच लाख लगानी रहेको एम्बुलेन्स नगरप्रमुख बस्नेतले सोही वडा अन्तर्गत जाल्पाचिलाउनेस्थित स्वास्थ्य चौकीलाई हस्तान्तरण शनिबार हस्तान्तरण गर्नुभएको हो ।

नयाँ एम्बुलेन्स हस्तान्तरण गर्दै नगरप्रमुख बस्नेतले अब आर्थिक अभावमा कुनैपनि महिलाले घरमा सुत्केरी हुने अवस्था सृजना नहुने र नगरपालिकाले सुत्केरी हुने महिलाका लागि जिल्ला र वडाका स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्ने निर्णय गरेको छ भन्नुभयो । त्रियुगा नगरपालिकाले अब घरमा सुत्केरी हुने कार्यलाई पूर्णरुपमा शून्य बनाउने अभियान नै सञ्चालन गरेकोले यस अभियानलाई सफल पार्न नगरबासि सबै महानुभावको सहयोगको पनि खाँचो रहेको उहाँले बताउनुभयो । 

नेपालको संविधानले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच हुनेछ र औषधि उपचार पाउने छन् भन्ने व्यवस्था भए अनुरुप कुनाकन्दराका नागरिकले पनि बिरामी हुँदाको समयमा एम्बुलेन्सको सुविधा उपयोग गर्न पाउनुपर्छ र त्यसका लागि नगरपालिकाले १६ वटै वडामा वर्ष दिनभरि नै सञ्चालन हुनसक्ने गरी सडक निर्माणका कामहरु भइरहेको बताउनुभयो। 

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुको मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा लगाउने व्यवस्था अनुसार एम्बुलेन्स खरिदमा सहयोग गरिएको बताउनुभयो । इन्स्योरेन्स कम्पनीका प्रबन्धक बुद्धि न्यौपाने कम्पनी मुनाफा मात्र आर्जन गर्छन् सामाजिक अभियानमा जोडिँदैनन् भन्ने भ्रम चिर्न यस्ता सहकार्यले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।